दुई घण्टासम्म लगातार गाएर पसिना–पसिना भएका गायक अमृत गुरुङले दर्शको वान्समोरको बर्षा थेग्न नसकेर थप तीनवटा गीत गाए । रेशम, रातो र चन्द्रसुर्य जंगी निसान हाम्रो र तालको पानी माछिले खाने उनले बोनसमा गाएका हुन् ।
स्थानिय सुकुना चलचित्र मन्दिरमा खचाखच भरिएका दर्शक विच कार्यक्रममा अघिल्लो कन्सर्टजस्तै गायक अमृतले फेरि पनि उपस्थित दर्शकहरुसँग विद्यालयलाई शान्ति क्षेत्र बनाउने अभियानमा सहयोग गर्न पटक पटक अनुरोध गर्दै गीत गाइरहे गाइरहे । साढे सातसय क्षमताको हलले नपुग्ने अवस्था भएपछि अन्तिम दिन टिकट काट्ने दर्शकलाई आयोजकले पचास प्रतिशत अतिरिक्त शुल्क लिएका थिए । यसो गर्दा पनि दर्शकको माँग अनुसार सिट उपलब्ध गराउन नसकिएको स्थानिय आयोजक रेडियो सारङ्गीले जानकारी दिएको छ ।
‘नेपथ्य’ले सन् २००२ देखि प्रारम्भ गरेको ‘शान्तिको लागि शिक्षा’ पाचौँ श्रृंखलाको दोस्रो कार्यक्रम अमृतले ‘नासे छ्यावा’ बोलको गीत गाएर थालेका थिए । पहिलो कार्यक्रम नेपथ्यले मंसिर २१ गते चितवनमा गरेको थियो । दुई घन्टासम्म लगातार चलेको कार्यक्रममा कलाकारहरुले व्यापक दर्शक प्रतिक्रिया पाएका थिए । ‘देश भित्रका साना मञ्चहरु हुन् वा विदेशका भव्य भेन्यू, मलाई जहाँ पनि दर्शकले उत्तिकै माया गरिदिन्छन् र सबै ठाउँ मलाई उस्तै लाग्छन्,’ कार्यक्रम सकिएपछि थकित गायक अमृतले प्रतिक्रिया दिए, ‘जहाँ पनि उत्तिकै माया पाउँदा मलाई भाग्यमानी गायक हुँ जस्तो लाग्छ ।’
कार्यक्रमका लागि शनिबार विराटचोक आइपुगेको नेपथ्यलाई आइतबार विहान सबेरै हात हातमा राष्ट्रिय झण्डा बोकेर आएका स्थानीय वासिन्दाले पञ्चैबाजाको धुनसहित बजार परिक्रमा गराएका थिए ।
स्थानीय आयोजकका अनुसार कन्सर्टबाट उठेको रकमले द्वन्द्वमा परेका र पढ्न नसकेका बालबालिकाको शिक्षामा लगानी गरिने छ । त्यसका निम्ति शिक्षा विकास समितिसँग सहकार्य गर्ने उद्देश्य रहेको आयोजक अर्जुन गजुरेलले जानकारी दिए । बिराटचोकमा विभिन्न तहका सातवटा सरकारी र एघारभन्दा बढी निजी विद्यालय छन् ।
0 comments:
Post a Comment