दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label Social. Show all posts
Showing posts with label Social. Show all posts

दशैं, घुमफिर र गन्तव्य




 चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भएको हाम्रो समाजको प्रतिनिधित्व हाम्रो राजनीतिक, प्रशासनिक र व्यावहारिक पक्षसँग पनि जोडिन्छन् ।

चाडपर्वलाई राज्यले उत्सवका रूपमा मनाउन यस समयमा लामो बिदा दिने गरेको छ । यसरी पाइने बिदाको समय मानिसले घर, परिवार र साथीभाइसँग मिलेर पर्वलाई अझ रङ्गीन र उत्सवमय बनाउँछन् ।

कतिपयलाई घुमफिर रमाइलो लाग्छ । केहीलाई लेख्न, पढ्न मन लाग्छ । समय र परिस्थितिले घरमा चाडपर्व मनाउने अवसर नमिलेका र घुमफिर गरेरै चाडपर्व मनाउने व्यक्तिहरूका लागि दशैं बिदा घुमफिरका लागि उपयुक्त अवसर हो । यतिबेला मौसमले पनि साथ दिन्छ । न गर्मी नत जाडो, घुम्नका लागि उपयुक्त हुन्छ ।

लामो बिदालाई सदुपयोग गर्दै विदेशीमात्रै नभएर नेपाली पनि घुम्न जाने प्रचलन बढ्दो छ । तर धेरैलाई कहाँ जाने ? कसरी जाने ? खर्च कति लाग्छ ? समय कति लाग्छ ? जस्ता अन्यौलता छन् । घुम्न जाँदा त्यसै जानुभन्दा यी सबै जानकारी लिएर गयो भने यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ ।

यस्तो यात्रा व्यवस्थापनका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज नै बनाउँछन् । ती प्याकेजहरूको अध्ययन गरेर आफूलाई उपयुक्त लाग्ने प्याकेज छान्न सकिन्छ । यसरी घुम्ने गन्तव्य छान्दा आफू र आफ्नो समूहलाई जान इच्छा भएको ठाउँ, त्यसमा जान लाग्ने खर्च, समय आदिको आधारभूत जानकारी लिँदा यात्रा सहज हुन्छ ।

यस आलेखमा काठमाडौंलाई आधार मानेर नेपालभरका आकर्षकमध्ये १५ वटा पर्यटकीय गन्तव्यको आधारभूत जानकारी दिने प्रयास गरिएको छ ।

१. गोसाइँकुण्ड

काठमाडौंबाट दुई दिनमा पुग्न सकिने धार्मिक तथा पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको गोसाइँकुण्ड । गोसाइँकुण्ड जाँदा बाटोमा पर्ने झरना, कुण्ड नजिकै देखिने भैरवकुण्ड, सूर्यकुण्ड, यात्रामा देखिने लाङटाङ हिमाल, गणेश हिमालको आकर्षक दृश्यले जोकसैको मन खुसी बनाउँछ ।

काठमाडौंबाट बस चडेर सात घण्टामा जिल्ला सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चेबाट पूरै दिन पैदलयात्रा गरेपछि पुगिन्छ गोसाइँकुण्ड । गोसाइँकुण्ड जाने बाटोमा विषालु फूल फुल्ने र उच्च भेग भएकाले लेक लाग्न सक्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । त्यस्तो समस्या आए यात्रा अगाडि नबढाउनु नै राम्रो हुन्छ । यसको लागि साथमा लसुन, पानी, टाउको दुखेको औषधि बोक्दा राम्रो हुन्छ । यातायात, खाना, बाससहित प्रतिव्यक्ति १० हजार रुपैयाँले गोसाइँकुण्ड पुगेर काठमाडौं फर्कन सकिन्छ ।

२. लाङटाङ

संघीय राजधानी काठमाडौंबाट नजिकको अर्को पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको लाङटाङ । हिमाल हेर्न चाहनेका लागि नजिकको गन्तव्य मानिन्छ लाङटाङ हिमाल । यहाँ पुग्न काठमाडौंबाट तीन दिन लाग्छ ।

काठमाडौंबाट हिंडेको पहिलो दिन स्याफ्रुबेंसी बास बस्न पुगिन्छ । त्यहाँबाट एकदिन र अर्को दिन ६ घण्टा हिंडेपछि मनोरम हिमाली क्षेत्र लाङटाङ पुगिन्छ ।

हिंड्दा बीचमा बास बस्ने र माथि पुगेर बस्नका लागि होटलहरूको व्यवस्था छ । लाङटाङ पुग्दा हिमालको काखमा बसेको अनुभूति हुन्छ । प्रतिव्यक्ति १२ हजार रुपैयाँ भए दुई दिन बास बसेर काठमाडौं फर्कन सकिन्छ ।

३. नगरकोट

नगरकोट काठमाडौंबाट नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो । बसबाट यात्रा गरेर एक घण्टामै नगरकोट पुग्न सकिन्छ । यो समय नगरकोट घुम्नका लागि उपयुक्त समय पनि हो । बस्नका लागि सस्तादेखि महँगा होटल छन् । सूर्योदय र सूर्यास्त हेर्न पनि नगरकोट प्रख्यात छ । तपाईं कस्तो होटलमा खाना नास्ता गर्न चाहनु हुन्छ ? कति दिन बस्नु हुन्छ ? त्यसैअनुसार खर्च छुट्याउनु पर्छ ।

४. पोखरा

दशैं बिदामा घुम्नलायक स्थानमध्ये पोखरा प्रमुख गन्तव्यमा पर्छ । पर्यटकीय राजधानी पोखरा पर्यटकका लागि सहज र आकर्षक स्थान हो । किनकि यहाँ घुमघामको पूर्ण प्याकेज पाउन सकिन्छ ।

पोखरामा सारङकोट या धम्पुस, घान्द्रुक, शान्ति–स्तूपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । त्यहाँ पुगेर केबल खाने र बस्नेमात्र होइन, त्यहाँ प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमाञ्चक गतिविधिमा भाग लिन सकिन्छ ।

आफ्नो बजेटअनुसार पाँचतारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सकिने पोखराको विशेषता सफा र शान्त वातावरण पनि हो । पोखरामा तपाईंले बिताउने दिने र सेवा लिने होटलको आधारमा खर्च छुट्याउनु पर्ने हुन्छ ।

५. मुक्तिनाथ

धार्मिक आस्था राख्ने र हिमाली जीवनको अनुभव लिन चाहनेका लागि मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त गन्तव्य हो । काठमाडौंबाट पोखरा, जोमसोम हुँदै तेस्रो दिन मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । नवरात्रिको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय पनि हो ।

बाटैमा पर्ने कागबेनीमा एकरात बसेर तिब्बती सभ्यताको अवलोकन गर्न सकिन्छ । तिब्बती सभ्यताको नमुना क्षेत्र हो कागबेनी । पुरानो सभ्यताको अवलोकन गर्दा छुट्टै महसुस हुनेछ ।

काठमाडौंबाट मुक्तिनाथ पुगेर फर्कन कम्तीमा ५ दिनको समय छुट्याउनु राम्रो हुन्छ । खर्च भने तपाईं बस्ने होटलको स्तरअनुसार फरक पर्छ । प्रतिव्यक्ति कम्तीमा १५ हजार रुपैयाँमा मुक्तिनाथ घुमेर फर्कन सक्नुहुनेछ ।

६. घलेगाउँ

लमजुङका दुई चर्चित गाउँ घनपोखरा र घलेगाउँ पर्छन् । फरक खालको दशैंको अनुभव लिन र ग्रामीण जनजीवनमा रमाउने गरी यात्राको योजना बनाउन सक्नुहुन्छ । घलेगाउँ होमस्टेका लागि चर्चित स्थान हो । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।

हिमालको काखमा घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायतका हिमशृङ्खला अवलोकन यहीबाट गर्न सकिन्छ । गाउँको स्वच्छ वातावरणमा केही दिन होमस्टेमा बसेर हिमाली जीवनको मज्जा लिन सकिन्छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्न मोटरमा डेढ घण्टा लाग्छ । काठमाडौंबाट एकदिनमा बेंसीसहर र दोस्रो दिन घले गाउँ पुग्न सकिन्छ । दुई दिन घलेगाउँ बस्ने हो भने ५ दिनमा घुमेर काठमाडौं फर्किइन्छ । सार्वजनिक बसमा जाँदा बस भाडा, खाना बस्नसहित न्यूनतम १० हजार खर्चले पुग्छ । तर तपाईं बेंसीसहरमा कस्तो होटलमा बस्नुहुन्छ त्यसअनुसार खर्च निर्भर गर्छ ।

७. रारा ताल

रारा ताल एकपटक पुग्नै पर्ने स्थान हो । कर्णालीको मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । समुद्र सतहदेखि २९७२ मिटर उचाइमा रहेको तालको लम्बाइ ३.२ किलोमिटर र गहिरा १६७ मिटर छ ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ । ताल वरिपरि फन्को लगाउन गोरेटो बाटो छ ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जाँदा ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिंडेपछि रारा पुगिन्छ ।

रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ ।

जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँमा खानासहित बास पाइन्छ । त्यहाँबाट रारा तालसम्म हिंडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ । फेरि सोही रुटबाट फर्कँदा करिब १७ हजारमा काठमाडौं आइपुगिन्छ ।

८. खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । पहाडी चार जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज छ । यो निकुञ्ज २२५ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा सल्ला, खसुर र निगाले जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन् । जैविक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडिबुटी पाइन्छ ।

खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ ।

काठमाडौंबाट धनगढी हुँदै डोटी सदरमुकाम सिलगढीबाट पैदलयात्रामा पहिलो बास झिग्राना बसेर त्यहाँबाट ८ घण्टा पदयात्रामा निकुञ्ज पुग्न सकिन्छ । खप्तडका लागि १० दिनको समय र कम्तीमा २५ हजार रुपैयाँ खर्च छुट्याउनु पर्छ ।

९. ककनी र नुवाकोट दरबार

नुवाकोटको ककनी काठमाडौंबाट जम्मा २५ किमिको यात्रामै पुग्न सकिने पर्यटकीय गन्तव्य हो । प्रकृतिप्रेमीका लागि यो स्थान उपयुक्त मानिन्छ । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल नांगो आँखाले स्पष्टसँग देख्न सकिन्छ ।

यसैगरी नुवाकोटको ऐतिहासिक साततले दरबार घुम्नका लागि उपयुक्त स्थान हो । राजधानीबाट एकै दिनमा पुगेर फर्किन सकिने भएकाले बिदाको समयमा धेरै मानिस त्यहाँ पुग्छन् । त्रिशूली र देवीघाट विद्युत् गृहको अवलोकनपछि त्रिशूलीमा एक रात बसेर पुनः ट्राउट हाइवेको माछा खाँदै पर्यटकीय गन्तव्यस्थल ककनीबाटै फर्किन सकिन्छ ।

१०. रुवी भ्याली

‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको उच्च हिमाली उपत्यका हो धादिङ जिल्लाको उच्च हिमाली क्षेत्र रुवी भ्याली । यहाँ गीत गाउँदागाउँदै तन्नेरी–तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन जीवितै छ । तामाङ समुदायको मौलिक संस्कृति मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहीँ हेर्न पाइन्छ ।

रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलनअनुसार युवाहरूले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ ।

रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । साथै नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ गणेश हिमालको फेदी हुँदै पाङसाङ पाससम्म सडक मार्गमार्फत पुग्न सकिन्छ ।

पाङसाङ पास व्यस्त शहरी भीडभाडबाट मन शान्त पार्दै ‘वान नाइट स्टे’ गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङसाङ पासबाट मनोरम हिमशृंखलाहरू, सुन्दर पहाडी प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

११. लुम्बिनी–बर्दिया

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी । यो एक ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य हो । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएको लोकोक्ति अहिले पनि छ ।
लुम्बिनीमा फरक शैलीमा निर्माण गरिएका गुम्बा, मन्दिरहरू छन् ।

सबैभन्दा राम्रो अनि मुख्य आकर्षण केन्द्रका रुपमा मायादेवी मन्दिर छ । गुम्बा, मन्दिरहरू चारैतिर बुद्धका मन्दिरहरू छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्बिर र मूर्तिहरू पनि छन् । फूलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । पर्यटकीय र धार्मिक दुवै हिसाबमा लुम्बिनी राम्रो छ । ध्यान गर्न चाहनेका लागि पनि यो उपयुक्त स्थान मानिन्छ ।

लुम्बिनी पुगेपछि बर्दिया राष्ट्रिय निकुञ्जका लागि पनि कम्तीमा २ दिनको समय छुट्याउनु आवश्यक छ । पारिवारिक भ्रमणका लागि उपयुक्त बर्दियामा होमस्टेमा बस्दा सबैभन्दा राम्रो हुन्छ । किनकी थारु समुदायको दशैं अनुभव गर्ने मौका मिल्छ ।

जताततै हरियाली, न कठ्याङ्ग्रिने जाडो न त उखरमाउलो गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । त्यहाँ जान सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तव्य आम मानिसका लागि सहज छ । जंगल सफारीको आनन्दसमेत लिन सकिन्छ ।

लुम्बिनी बर्दियाका लागि ५ दिनको समय र न्यूनतम १० हजार रुपैयाँ प्रतिव्यक्ति खर्चले पुग्छ । त्यसो त यात्राको सवारी र खाने बस्ने होटल कुन स्तरको प्रयोग गर्ने त्यसअनुसार खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

१२. इलाम–ताप्लेजुङ

पूर्वी नेपालको धरान, धनकुटा, भेंडेटार हुँदै ताप्लेजुङसम्मको यात्रा पनि मनोरञ्जनात्मक हुन्छ । यो यात्रामा कोशीटप्पु, धरान भेंडेटार घुमेर इलामको कन्याम, फिक्कल हुँदै इलामबजार र ओलाङचुङगोलादेखि पाथिभरासम्मको यात्रा गर्दा अझ रोमाञ्चक हुनेछ ।

जसमा धरान–धनकुटामा किराँत (राई) समुदायले लगाउने सेतो अक्षताको टीकाको फरक अनुभव पाउन सकिन्छ । यो गन्तव्य फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । कोशी टप्पुमा हात्ती सयर र चराको अवलोकन गर्न सकिन्छ । इलाममा चियाबारीको मनमोहक दृश्य र श्रीअन्तुमा होमस्टे बसेर सूर्योदयको दृश्य अवलोकन गर्न पाइन्छ ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । यसका लागि १० दिनको समय र न्यूनतम २० हजार रुपैयाँ खर्च छुट्याउनु पर्नेछ ।

१३. सौराहा

नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैंडा, बाघ, मृग, जरायो, मयूर, चित्तल, बदेललगायत वन्यजन्तुको साझा बासस्थान हो ।

सौराहामा सामान्य गेष्ट हाउसदेखि पाँचतारे स्तरका होटल सञ्चालनमा छन् । जसको मूल्य प्रतिरात १ हजारदेखि १५ हजार रुपैयाँसम्म रहेको छ । यहाँ ३०० देखि १५०० सम्ममा खाना खान पाइन्छ । चार दिनको समय र कुन स्तरको होटलमा बस्ने त्यसअनुसारको बजेट व्यवस्थापन गर्नुपर्नेछ ।

१४. केरुङ

छिमेकी मुलुक चीनको ‘रसुवागढी–केरुङ’ नाका जोडिएको पर्यटकीय क्षेत्र लाङटाङ र ‘रसुवागढी–केरुङ’ मा दशैंका बेला निकै चहलपहल हुन्छ । यस क्षेत्रको यात्राका लागि उपयुक्त मौसम यही महिना हो । दशैं बिदाको समयमा यस क्षेत्र फोटो र भिडियोको सौखिनहरूका लागि अति उपयुक्त हुन्छ ।

भन्सार नाका क्षेत्र भएकाले अहिले यहाँ पुग्नलाई समस्या छैन । काठमाडौंबाट जम्मा १७० किमिको स्याफ्रुबेंसीसम्म बस पाइन्छ । मौसम राम्रो भयो भने जीपमा थाङजिमसम्मै पुगिन्छ । बालाजुबाट यहाँसम्म पुग्न करिब ८ घण्टा मात्र लाग्छ ।

१५. विभिन्न शक्तिपीठहरू

बिदाको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने विभिन्न शक्तिपीठहरू पनि महत्वपूर्ण स्थानका रुपमा लिइन्छ । नवरात्रिभर हरेक शक्तिपीठमा मेला लाग्छ । सपरिवार ती शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने दशैं अर्थपूर्ण र दशैंजस्तै हुनेछ ।

गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलाञ्चोक भगवती, दक्षिणकाली, ताप्लेजुङको पाथिभरा, सप्तरीको छिन्नमस्ताजस्ता शक्तिपीठको यात्रामा निस्कन सकिन्छ ।

प्रत्येक जिल्लामा रहेका भगवतीका मठमन्दिरमा नवरात्रिभर विशेष पूजा लाग्ने भएकाले टाढाका गन्तव्यमा जान नभ्याए पनि घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर दशैं बिदालाई उपयोगी बनाउन सकिन्छ ।

देशको न्युज अनलाइनद्वारा २०८१ मा प्रकाशित दसैँ विशेष अंकबाट साभार

National Convention for CA Students को केही झलक

विराटनरमा २०७२ चैत ५ र ६ गते भएकाे सिए पढ्ने विद्यार्थीको राष्ट्रिय भेला । भेलामा तीनसय बढी सिए विद्यार्थीहरुको सहभागीता थियो । जसमा काठमाडौंका १५० जना विराटनगरका १५० जना र भारतकाे सिलिगुढीका ४० जना विद्यार्थी सहभागी थिए । 
























आन्दोलनकारीको निसानामा एम्बुलेन्स, सुत्केरी गराउँन सिटिसफारी

सुनसरी ।  ६ मङ्सिर ०७२
सुत्केरी व्यथाले च्यापेकी पत्नीलाई धनकुटाको सिरानबजारका आनन्द खनालले मङ्सिर ५ गते अस्पताल पु¥याउँन एम्बुलेन्स चढाउँन पाएनन् । व्यथा नलाग्दै धनकुटाबाट सार्वजनिक यातायात चढेर विराटनगर हिडेपनि इटहरीमा आइपुग्दा व्यथाले झन च्याप्यो । पत्नी गुञ्जन गुरागाँईलाई एम्बुलेन्समा हालेर विराटनगर स्थित नोवेल अस्पताल पु¥याउँन खोज्दा एम्बुलेन्स चालक जाँन नमानेको आनन्दले बताए । ‘तीन ओटा एम्बुलेन्सलाई गुहारेँ । तर  उनीहरू कोही पनि विराटनगर भनेपछि जान मानेनन् । यतैका अस्पतालमा भर्ना गर्न भने । उनीहरू नमानेपछि डेढ घण्टालगाएर सिटिसफारीमा विराटनगर पु¥याएँ,’ उनले फोनमा भने ‘धन्न विरामीलाई केही भएन ।’
तराईमा जारी आन्दोलनमा आन्दोलनकारीले एम्बुलेन्सलाई निसाना बनाएपछि मङ्सिर ५ गतेदेखि एम्बुलेन्स चालकहरूले एम्बुलेन्स विराटनगर लान मानेका छैनन् । पछिल्लो पटक मङ्सिर ४ गते सुनसरीको दुहबीमा आन्दोलनकारी संयुक्त मधेसी मोर्चाका कार्यक्रताले विराटनगरबाट विरामी लिएर धरान जाँदैगरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स लोडफोड गर्दा चालक विराटनगर उमनपा –११ का आनन्द विक घाइते भएपछि एम्बुलेन्स चालकहरू आन्दोलित भएका छन् । घाइते विकको सिटि अस्पताल विराटनगरमा उपचार भैरहेको छ । एम्बुलेन्स चालक संघ मोरङले मङ्सिर ५ गते मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको ग्यारेन्टी र एम्बुलेन्समा आक्रमण नगर्ने लिखित प्रतिबद्धता नभएसम्म मोरङ र सुनसरीमा एम्बुलेन्स चलाउन नसकिने जनाएको छ । संघले बितेका तीन महिनामा सुनसरी र मोरङमा एक दर्जनभन्दा बढी एम्बुलेन्स तोडफोड भएको र ६ जना चालक कुटिएको जनाएको छ । मङ्सिर ३ गते पनि मोरङको रङ्गेलीबाट विरामी लिएर विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स विरामी पनि निकाल्न नदिइ संयुक्त मधेशी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । यस्तै ०७२ असोज ६ गते विरामी विराटनगर पु¥याएर फर्कदै गरेका सप्तरीका को १ च ४६९५ र स १ त ८७३ नम्बरका दुई ओटा एम्बुलेन्स सुनसरीको भोक्राहामा संयुक्त मधेसी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । पटक–पटक एम्बुलेन्स तोडफोड हुन थालेपछि सुरक्षाका लागि आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउँछन् एम्बुलेन्स चालक संघ सुनसरीका उपाध्यक्ष भानु शर्मा । १४ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका शर्मा माओवादी युद्धकालमा पनि एम्बुलेन्स चालकहरूले यस्तो दुःख नपाएको बताउँछन् । ‘माओवादी युद्धका वेला पनि अहिले जस्तो असुरक्षित महशुस गर्नु परेको थिएन । माओवादीका घाइतेहरूलाई बोक्दा पनि समस्या हुदैन थियो । उनीहरूले पैसा पनि रेट अनुसार नै दिन्थे बरु अहिले समस्यै समस्या छ,’उनले भने । अर्का एम्बुलेन्स चालक भुवन मगर भन्छन् ‘नाकाबन्दीले एकातर्फ डिजेल÷पेट्रोल नपाएर विरामीले बोलाए ठाउँमा पुग्न सक्ने अवस्था छैन । अर्को तर्फ आन्दोलनकारीले कुन ठाउँमा तोडफोड गर्ने हुँन भन्ने त्रासमा हिड्नु पर्छ ।’ यसअघि पनि ०७० जेठ १२ गते सुनसरीको दुहबीमै आन्दोलनकारीको तोडफोडमा परी घाइते भएको सम्झदै उनले भने ‘विरामीलाई विराटनगर पु¥याएर फर्कदै थियाँै ं दुहबीमा आन्दोलनकारीले रोके । आउँने र जाने गरेर १२ ओटा एम्बुलेन्स तोडफोड भए । म र अर्को एम्बुलेन्सका चालक रमेश चौधरी घाइते भयौं । दुवै जना तीन दिन अस्पताल बस्नुप¥यो ।’ विनाकारण एम्बुलेन्स तोडफोड र आफुहरु घाइते भएपनि उपचारका लागि सहयोग नपाएको तथा दोषीलाई कारबाही नभएको उनको गुनासो छ ।
१२ वर्षदेखि रेडक्रस इनरुवाको एम्बुलेन्स चलाउँदै आएका छगन मण्डल पनि सम्झन्छन्   एम्बुलेन्स चलाएकै कसुरमा दुई वर्ष अगाडि दुहवी पश्चिम तुताहामा फोरमकै कार्यक्रताबाट कुटिएको । ‘मधेश आन्दोलनमा एम्बुलेन्स चालक त्रासमा हिड्नु परेको छ । अरु आन्दोलनमा सुरक्षित महसुश भएपनि तराईको आन्दोलनमा सुरक्षित महसुश गर्न सकिएको छैन्,’ छगनले भने । दुहबी क्षेत्रमा प्राय भाडाका आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गर्ने गरेको चालकहरूको भनाइ छ । जसले बन्द गरेपनि सडकमा तोडफोड गर्न आउँने अनुहार सधै एउटै देखिएको उनीहरूको भनाइ छ ।
आन्दोलनको नेतृत्व गरिरेको संघिय समाजवादी फोरमका सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे भने आफुहरूले एम्बुलेन्सलाई निसाना नबनाएको बताउँछन् । उनी भन्छन् ‘प्रहरीले हाम्रा कार्यक्रतालाई गिरफ्तार गरेपछि आक्रोसित स्थानीयले तोडफोड गरे । हामीले  कसैलाई एम्बुलेन्स तोडफोगर्न भनेका छैनौं ।’ एम्बुलेन्स तोडफोड हुनु गलत भएको उनको भनाइ छ ।
चालकहरू असुरक्षित महसुश गर्दै आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले समयमै स्वास्थ्य सेवा पाउँनबाट बञ्चित हुनुपरेको छ । सुनसरीमा ९२ ओटा र मोरङमा ९७ ओटा एम्बुलेन्स सञ्चालनमा छन् । आन्दोलनमै भएपनि अत्यन्तै सिकिस्त र गम्भिर किसिममा विरामीलाई भने ज्यान जोखिमै राखेर भएपनि बोक्ने बताउँछन् भुवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चालक भुवन मगर । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था मजवुत बनाएकाले अब एम्बुलेन्स चालक असुरक्षित नहुने बताए । सबै एम्बुलेन्स ढुक्कसंग चलाउन उनले आग्रह गरेका छन् । रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापा पनि एम्बुलेन्स बन्द हुन नदिने बताउँछन् । उनी भन्छन् ‘मानवको जीवनसंग जोडिएको अत्यावसकीय सेवा बन्द गर्न मिल्दैन् । चालकको सुरक्षाका लागि राज्यले व्यवस्था गर्नुपर्छ र चालकले पनि आफ्नो काम निरन्तर गर्नुपर्छ । त्यो वातावरण बनाउँन रेडक्रस सक्रिय रहन्छ ।’




फेरिदैछ इटहरी

दुईवर्ष अगाडी नागरिकहरुले सुरु गरेको कीप इटहरी क्लीन अभियानको चर्चा सेलाउन सेलाउन लागेका वेला फेरी इटहरीबाट अर्को अभियान सुरु भएको छ । इटहरीको बाहिरी स्वरुप फेर्ने अभियान कीप इटहरी क्लिन नेपालमै पहिलो र चर्चित कार्यक्रम बन्यो  शहर सरफाइका लागि । आखिर मानिसले चाहे र गर्यो भने हुन्छ भन्ने उदाहरण हो त्यो ।
आजदेखि प्रहरीले व्लक पोलिसिङ कार्यक्रम सुर गर्यो जस्ले इटहरीमा भएका विकृती र विसंगतीको फोहर सफा गर्ने अपेक्षा गरिएको छ । त्यसै कार्यक्रमको समाचार र तस्विर ब्लगमा अपलोड गर्न मन लाग्यो । धेरै भएको थियो व्लग अपडेट नगरेको पनि । आजको कार्यक्रममा इटहरीवासीको उत्साहजनक सहभागीता देखेर उनीहरु जस्तै म पनि आशावादी भएको छु ।

समाचार जस्ताको त्यस्तै 
नेपाल प्रहरीले शुक्रबारदेखि सुनसरीको इटहरीमा ब्लक पोलिसिङ कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याुभुति दिन नेपालमै पहिलो पटक यो कार्यक्रम सुरु गरेको बताए ।
इटहरीका घरघरभित्र रहेका विकृती र अपराधलाई बाहिर निकाल्न नेपाल प्रहरीले कार्यक्रमको सुरुवात गरेको उनको भनाइ छ ।




उनले इटहरीको सुधार अभियान डिएसपी विनोद शर्माको मात्र नभएर नेपाल प्रहरीको भएको जिकिर गर्दै इटहरीमा लागूपदार्थ दुव्र्यसनको समस्यालाई समाधान गर्न आफूले योजना बनाएको सिलवालले बताए । पूर्वमा पहिलो पटक इटहरीबाट सुरु गरिएको कार्यक्रममा नेपालमै परिक्षणका रुपमा भएकाले यसलाई सफल बनाउँन सहयोग गर्न सिलवालले सबैलाई आग्रह गरे ।
इटहरीका नौ वटै वडामा सञ्चालन गरीने कार्यक्रम अन्तर्गत प्रति एक सय घर बराबर दुई जना प्रहरी खटाइने र ती प्रहरीले घरहरुको निगरानी र रेखदेख गर्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक विनोदशर्माले बताए । ब्लक पोलिसिङ अन्र्तगत प्रहरीले मानिस नभएका घरहरुको रेखदेख गर्ने, वृद्धवृद्धाहरुलाई औषधी उपचारको लागि अस्पतालसम्म लगेर सहयोग गरिदिने लगायतका कामहरु समेत गर्ने शर्माले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, पारालिगल इटहरीकी राधा भट्टराई, एमाले इटहरी नगर अध्यक्ष याम सुव्वा लगायतले प्रहरीले सुरु गरेको कार्यक्रमबाट जनताले राहात महसुश गर्ने अपेक्षा गर्दै सफलतको शुभकामना दिएका थिए । कार्यक्रममा हजारौं सर्वसाधारणको सहभागीता थियो ।
 सेतोपाटीमा इटहरीको यौन व्यवसायको समाचार

प्रकृतिले नै ठगेपछि .....

प्रकृति पनि कति निष्ठूर हुन्छ है ? हामी भेदभावको कुरा गर्छौ । यो त प्रकृति प्रदत्त हो रै’छ । पहिले – पहिले विश्वास लाग्दैनथ्यो प्रकृतिले नै भेदभाव गर्छ भनेर । आफ्नै आँखाले देखे पछि नपत्याउँ पनि कसरी ? कुरा एक साता अगाडीको मात्र हो । सुनसरीको औरावनीमा थियौं एउटा रिर्पोटीङकाका लागि मिलन जी र म ।
एउटा दृष्यले हामीलाई तान्यो । र सोच्न बाध्य पा¥यो । त्यहाँबाट फर्कियौं समाचार लेख्यौं। फेसबुकमा सेयर ग¥यौ । तर पनि चित्त बुझेन र आज यो ब्लग लेख्दैछु । हाम्रो समाचारको शिर्षक थियो ‘बच्चाको उपचारका लागि सहयोगको याचना’ पूँजीपति अर्थ व्यवस्था र राजनीतिक अस्थिरताले अस्तव्यस्त हाम्रो समाजको एउटा उदाहरणमात्र हो यो । सरकारले आफ्ना नागरिकका लागि उपचारको व्यवस्था नगरेपछि आफ्ना सन्ततीको उपचार गर्न यी निम्न वर्गीय दम्पत्तिले साच्चै सहयोगको याचना गर्नुको विकल्प छैन रैछ ।
जन्मदै मलद्वारा नभएको छोरा दिलखुसको उपचारका लागि सुनसरीको पूर्वकुशाहा–५का राचन्द्र मण्डल र फुलकुमारी मण्डल यतिवेला  सुनसरीका विभिन्न ठाउँमा भौतारिइरहेका छन् । नौ महिने दिलखुको मलद्वार नभएकाले त्यसका लागि खर्च जुटाउन चन्दा माग्दै हिडेको बताउँने रामचन्द्रले छोराको उपचारका लागि एकलाख भन्दा बढि खर्च हुने बताए । ‘जन्मदै मलद्वार थिएन । नौ दिनका दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखायौं । डाक्टरले पेट चिरेर तत्कालका लागि दिसा निकाल्ने व्यवस्था मिलाए । तर पैसा नभएर मलद्वारबाट दिशा गर्नसक्ने बनाउन सकेनौ,’ मण्डलले भने ।
कृषि मजदुरी गर्दै आएको मण्डल परिवारले कसैले सहयोग गरेर सन्तानको उपचार गर्नपाए दैनिक गुजाराका लागि सजिलो हुने बताए । ‘एकलाख रुपैया भए नानीको मलद्वार खोल्न सकिने डाक्टरले बताएका छन् । त्यसका लागि चन्दा उठाइरहेका छौं । प्रकृतिले नै ठगेको हामीलाई सहयोग गरिदिनुहुन सबैसंग अनुरोध गर्छु,’ फुलकुमारीले भनिन् ।

 
धन्यवाद