दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

दशैं, घुमफिर र गन्तव्य




 चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भएको हाम्रो समाजको प्रतिनिधित्व हाम्रो राजनीतिक, प्रशासनिक र व्यावहारिक पक्षसँग पनि जोडिन्छन् ।

चाडपर्वलाई राज्यले उत्सवका रूपमा मनाउन यस समयमा लामो बिदा दिने गरेको छ । यसरी पाइने बिदाको समय मानिसले घर, परिवार र साथीभाइसँग मिलेर पर्वलाई अझ रङ्गीन र उत्सवमय बनाउँछन् ।

कतिपयलाई घुमफिर रमाइलो लाग्छ । केहीलाई लेख्न, पढ्न मन लाग्छ । समय र परिस्थितिले घरमा चाडपर्व मनाउने अवसर नमिलेका र घुमफिर गरेरै चाडपर्व मनाउने व्यक्तिहरूका लागि दशैं बिदा घुमफिरका लागि उपयुक्त अवसर हो । यतिबेला मौसमले पनि साथ दिन्छ । न गर्मी नत जाडो, घुम्नका लागि उपयुक्त हुन्छ ।

लामो बिदालाई सदुपयोग गर्दै विदेशीमात्रै नभएर नेपाली पनि घुम्न जाने प्रचलन बढ्दो छ । तर धेरैलाई कहाँ जाने ? कसरी जाने ? खर्च कति लाग्छ ? समय कति लाग्छ ? जस्ता अन्यौलता छन् । घुम्न जाँदा त्यसै जानुभन्दा यी सबै जानकारी लिएर गयो भने यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ ।

यस्तो यात्रा व्यवस्थापनका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज नै बनाउँछन् । ती प्याकेजहरूको अध्ययन गरेर आफूलाई उपयुक्त लाग्ने प्याकेज छान्न सकिन्छ । यसरी घुम्ने गन्तव्य छान्दा आफू र आफ्नो समूहलाई जान इच्छा भएको ठाउँ, त्यसमा जान लाग्ने खर्च, समय आदिको आधारभूत जानकारी लिँदा यात्रा सहज हुन्छ ।

यस आलेखमा काठमाडौंलाई आधार मानेर नेपालभरका आकर्षकमध्ये १५ वटा पर्यटकीय गन्तव्यको आधारभूत जानकारी दिने प्रयास गरिएको छ ।

१. गोसाइँकुण्ड

काठमाडौंबाट दुई दिनमा पुग्न सकिने धार्मिक तथा पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको गोसाइँकुण्ड । गोसाइँकुण्ड जाँदा बाटोमा पर्ने झरना, कुण्ड नजिकै देखिने भैरवकुण्ड, सूर्यकुण्ड, यात्रामा देखिने लाङटाङ हिमाल, गणेश हिमालको आकर्षक दृश्यले जोकसैको मन खुसी बनाउँछ ।

काठमाडौंबाट बस चडेर सात घण्टामा जिल्ला सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चेबाट पूरै दिन पैदलयात्रा गरेपछि पुगिन्छ गोसाइँकुण्ड । गोसाइँकुण्ड जाने बाटोमा विषालु फूल फुल्ने र उच्च भेग भएकाले लेक लाग्न सक्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । त्यस्तो समस्या आए यात्रा अगाडि नबढाउनु नै राम्रो हुन्छ । यसको लागि साथमा लसुन, पानी, टाउको दुखेको औषधि बोक्दा राम्रो हुन्छ । यातायात, खाना, बाससहित प्रतिव्यक्ति १० हजार रुपैयाँले गोसाइँकुण्ड पुगेर काठमाडौं फर्कन सकिन्छ ।

२. लाङटाङ

संघीय राजधानी काठमाडौंबाट नजिकको अर्को पर्यटकीय गन्तव्य हो, रसुवा जिल्लाको लाङटाङ । हिमाल हेर्न चाहनेका लागि नजिकको गन्तव्य मानिन्छ लाङटाङ हिमाल । यहाँ पुग्न काठमाडौंबाट तीन दिन लाग्छ ।

काठमाडौंबाट हिंडेको पहिलो दिन स्याफ्रुबेंसी बास बस्न पुगिन्छ । त्यहाँबाट एकदिन र अर्को दिन ६ घण्टा हिंडेपछि मनोरम हिमाली क्षेत्र लाङटाङ पुगिन्छ ।

हिंड्दा बीचमा बास बस्ने र माथि पुगेर बस्नका लागि होटलहरूको व्यवस्था छ । लाङटाङ पुग्दा हिमालको काखमा बसेको अनुभूति हुन्छ । प्रतिव्यक्ति १२ हजार रुपैयाँ भए दुई दिन बास बसेर काठमाडौं फर्कन सकिन्छ ।

३. नगरकोट

नगरकोट काठमाडौंबाट नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो । बसबाट यात्रा गरेर एक घण्टामै नगरकोट पुग्न सकिन्छ । यो समय नगरकोट घुम्नका लागि उपयुक्त समय पनि हो । बस्नका लागि सस्तादेखि महँगा होटल छन् । सूर्योदय र सूर्यास्त हेर्न पनि नगरकोट प्रख्यात छ । तपाईं कस्तो होटलमा खाना नास्ता गर्न चाहनु हुन्छ ? कति दिन बस्नु हुन्छ ? त्यसैअनुसार खर्च छुट्याउनु पर्छ ।

४. पोखरा

दशैं बिदामा घुम्नलायक स्थानमध्ये पोखरा प्रमुख गन्तव्यमा पर्छ । पर्यटकीय राजधानी पोखरा पर्यटकका लागि सहज र आकर्षक स्थान हो । किनकि यहाँ घुमघामको पूर्ण प्याकेज पाउन सकिन्छ ।

पोखरामा सारङकोट या धम्पुस, घान्द्रुक, शान्ति–स्तूपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । त्यहाँ पुगेर केबल खाने र बस्नेमात्र होइन, त्यहाँ प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमाञ्चक गतिविधिमा भाग लिन सकिन्छ ।

आफ्नो बजेटअनुसार पाँचतारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सकिने पोखराको विशेषता सफा र शान्त वातावरण पनि हो । पोखरामा तपाईंले बिताउने दिने र सेवा लिने होटलको आधारमा खर्च छुट्याउनु पर्ने हुन्छ ।

५. मुक्तिनाथ

धार्मिक आस्था राख्ने र हिमाली जीवनको अनुभव लिन चाहनेका लागि मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त गन्तव्य हो । काठमाडौंबाट पोखरा, जोमसोम हुँदै तेस्रो दिन मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । नवरात्रिको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय पनि हो ।

बाटैमा पर्ने कागबेनीमा एकरात बसेर तिब्बती सभ्यताको अवलोकन गर्न सकिन्छ । तिब्बती सभ्यताको नमुना क्षेत्र हो कागबेनी । पुरानो सभ्यताको अवलोकन गर्दा छुट्टै महसुस हुनेछ ।

काठमाडौंबाट मुक्तिनाथ पुगेर फर्कन कम्तीमा ५ दिनको समय छुट्याउनु राम्रो हुन्छ । खर्च भने तपाईं बस्ने होटलको स्तरअनुसार फरक पर्छ । प्रतिव्यक्ति कम्तीमा १५ हजार रुपैयाँमा मुक्तिनाथ घुमेर फर्कन सक्नुहुनेछ ।

६. घलेगाउँ

लमजुङका दुई चर्चित गाउँ घनपोखरा र घलेगाउँ पर्छन् । फरक खालको दशैंको अनुभव लिन र ग्रामीण जनजीवनमा रमाउने गरी यात्राको योजना बनाउन सक्नुहुन्छ । घलेगाउँ होमस्टेका लागि चर्चित स्थान हो । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।

हिमालको काखमा घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायतका हिमशृङ्खला अवलोकन यहीबाट गर्न सकिन्छ । गाउँको स्वच्छ वातावरणमा केही दिन होमस्टेमा बसेर हिमाली जीवनको मज्जा लिन सकिन्छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्न मोटरमा डेढ घण्टा लाग्छ । काठमाडौंबाट एकदिनमा बेंसीसहर र दोस्रो दिन घले गाउँ पुग्न सकिन्छ । दुई दिन घलेगाउँ बस्ने हो भने ५ दिनमा घुमेर काठमाडौं फर्किइन्छ । सार्वजनिक बसमा जाँदा बस भाडा, खाना बस्नसहित न्यूनतम १० हजार खर्चले पुग्छ । तर तपाईं बेंसीसहरमा कस्तो होटलमा बस्नुहुन्छ त्यसअनुसार खर्च निर्भर गर्छ ।

७. रारा ताल

रारा ताल एकपटक पुग्नै पर्ने स्थान हो । कर्णालीको मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । समुद्र सतहदेखि २९७२ मिटर उचाइमा रहेको तालको लम्बाइ ३.२ किलोमिटर र गहिरा १६७ मिटर छ ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ । ताल वरिपरि फन्को लगाउन गोरेटो बाटो छ ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जाँदा ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिंडेपछि रारा पुगिन्छ ।

रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ ।

जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँमा खानासहित बास पाइन्छ । त्यहाँबाट रारा तालसम्म हिंडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ । फेरि सोही रुटबाट फर्कँदा करिब १७ हजारमा काठमाडौं आइपुगिन्छ ।

८. खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । पहाडी चार जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज छ । यो निकुञ्ज २२५ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा सल्ला, खसुर र निगाले जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन् । जैविक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडिबुटी पाइन्छ ।

खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ ।

काठमाडौंबाट धनगढी हुँदै डोटी सदरमुकाम सिलगढीबाट पैदलयात्रामा पहिलो बास झिग्राना बसेर त्यहाँबाट ८ घण्टा पदयात्रामा निकुञ्ज पुग्न सकिन्छ । खप्तडका लागि १० दिनको समय र कम्तीमा २५ हजार रुपैयाँ खर्च छुट्याउनु पर्छ ।

९. ककनी र नुवाकोट दरबार

नुवाकोटको ककनी काठमाडौंबाट जम्मा २५ किमिको यात्रामै पुग्न सकिने पर्यटकीय गन्तव्य हो । प्रकृतिप्रेमीका लागि यो स्थान उपयुक्त मानिन्छ । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल नांगो आँखाले स्पष्टसँग देख्न सकिन्छ ।

यसैगरी नुवाकोटको ऐतिहासिक साततले दरबार घुम्नका लागि उपयुक्त स्थान हो । राजधानीबाट एकै दिनमा पुगेर फर्किन सकिने भएकाले बिदाको समयमा धेरै मानिस त्यहाँ पुग्छन् । त्रिशूली र देवीघाट विद्युत् गृहको अवलोकनपछि त्रिशूलीमा एक रात बसेर पुनः ट्राउट हाइवेको माछा खाँदै पर्यटकीय गन्तव्यस्थल ककनीबाटै फर्किन सकिन्छ ।

१०. रुवी भ्याली

‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको उच्च हिमाली उपत्यका हो धादिङ जिल्लाको उच्च हिमाली क्षेत्र रुवी भ्याली । यहाँ गीत गाउँदागाउँदै तन्नेरी–तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन जीवितै छ । तामाङ समुदायको मौलिक संस्कृति मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहीँ हेर्न पाइन्छ ।

रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलनअनुसार युवाहरूले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ ।

रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । साथै नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ गणेश हिमालको फेदी हुँदै पाङसाङ पाससम्म सडक मार्गमार्फत पुग्न सकिन्छ ।

पाङसाङ पास व्यस्त शहरी भीडभाडबाट मन शान्त पार्दै ‘वान नाइट स्टे’ गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङसाङ पासबाट मनोरम हिमशृंखलाहरू, सुन्दर पहाडी प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

११. लुम्बिनी–बर्दिया

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी । यो एक ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य हो । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएको लोकोक्ति अहिले पनि छ ।
लुम्बिनीमा फरक शैलीमा निर्माण गरिएका गुम्बा, मन्दिरहरू छन् ।

सबैभन्दा राम्रो अनि मुख्य आकर्षण केन्द्रका रुपमा मायादेवी मन्दिर छ । गुम्बा, मन्दिरहरू चारैतिर बुद्धका मन्दिरहरू छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्बिर र मूर्तिहरू पनि छन् । फूलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । पर्यटकीय र धार्मिक दुवै हिसाबमा लुम्बिनी राम्रो छ । ध्यान गर्न चाहनेका लागि पनि यो उपयुक्त स्थान मानिन्छ ।

लुम्बिनी पुगेपछि बर्दिया राष्ट्रिय निकुञ्जका लागि पनि कम्तीमा २ दिनको समय छुट्याउनु आवश्यक छ । पारिवारिक भ्रमणका लागि उपयुक्त बर्दियामा होमस्टेमा बस्दा सबैभन्दा राम्रो हुन्छ । किनकी थारु समुदायको दशैं अनुभव गर्ने मौका मिल्छ ।

जताततै हरियाली, न कठ्याङ्ग्रिने जाडो न त उखरमाउलो गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । त्यहाँ जान सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तव्य आम मानिसका लागि सहज छ । जंगल सफारीको आनन्दसमेत लिन सकिन्छ ।

लुम्बिनी बर्दियाका लागि ५ दिनको समय र न्यूनतम १० हजार रुपैयाँ प्रतिव्यक्ति खर्चले पुग्छ । त्यसो त यात्राको सवारी र खाने बस्ने होटल कुन स्तरको प्रयोग गर्ने त्यसअनुसार खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

१२. इलाम–ताप्लेजुङ

पूर्वी नेपालको धरान, धनकुटा, भेंडेटार हुँदै ताप्लेजुङसम्मको यात्रा पनि मनोरञ्जनात्मक हुन्छ । यो यात्रामा कोशीटप्पु, धरान भेंडेटार घुमेर इलामको कन्याम, फिक्कल हुँदै इलामबजार र ओलाङचुङगोलादेखि पाथिभरासम्मको यात्रा गर्दा अझ रोमाञ्चक हुनेछ ।

जसमा धरान–धनकुटामा किराँत (राई) समुदायले लगाउने सेतो अक्षताको टीकाको फरक अनुभव पाउन सकिन्छ । यो गन्तव्य फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । कोशी टप्पुमा हात्ती सयर र चराको अवलोकन गर्न सकिन्छ । इलाममा चियाबारीको मनमोहक दृश्य र श्रीअन्तुमा होमस्टे बसेर सूर्योदयको दृश्य अवलोकन गर्न पाइन्छ ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । यसका लागि १० दिनको समय र न्यूनतम २० हजार रुपैयाँ खर्च छुट्याउनु पर्नेछ ।

१३. सौराहा

नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैंडा, बाघ, मृग, जरायो, मयूर, चित्तल, बदेललगायत वन्यजन्तुको साझा बासस्थान हो ।

सौराहामा सामान्य गेष्ट हाउसदेखि पाँचतारे स्तरका होटल सञ्चालनमा छन् । जसको मूल्य प्रतिरात १ हजारदेखि १५ हजार रुपैयाँसम्म रहेको छ । यहाँ ३०० देखि १५०० सम्ममा खाना खान पाइन्छ । चार दिनको समय र कुन स्तरको होटलमा बस्ने त्यसअनुसारको बजेट व्यवस्थापन गर्नुपर्नेछ ।

१४. केरुङ

छिमेकी मुलुक चीनको ‘रसुवागढी–केरुङ’ नाका जोडिएको पर्यटकीय क्षेत्र लाङटाङ र ‘रसुवागढी–केरुङ’ मा दशैंका बेला निकै चहलपहल हुन्छ । यस क्षेत्रको यात्राका लागि उपयुक्त मौसम यही महिना हो । दशैं बिदाको समयमा यस क्षेत्र फोटो र भिडियोको सौखिनहरूका लागि अति उपयुक्त हुन्छ ।

भन्सार नाका क्षेत्र भएकाले अहिले यहाँ पुग्नलाई समस्या छैन । काठमाडौंबाट जम्मा १७० किमिको स्याफ्रुबेंसीसम्म बस पाइन्छ । मौसम राम्रो भयो भने जीपमा थाङजिमसम्मै पुगिन्छ । बालाजुबाट यहाँसम्म पुग्न करिब ८ घण्टा मात्र लाग्छ ।

१५. विभिन्न शक्तिपीठहरू

बिदाको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने विभिन्न शक्तिपीठहरू पनि महत्वपूर्ण स्थानका रुपमा लिइन्छ । नवरात्रिभर हरेक शक्तिपीठमा मेला लाग्छ । सपरिवार ती शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने दशैं अर्थपूर्ण र दशैंजस्तै हुनेछ ।

गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलाञ्चोक भगवती, दक्षिणकाली, ताप्लेजुङको पाथिभरा, सप्तरीको छिन्नमस्ताजस्ता शक्तिपीठको यात्रामा निस्कन सकिन्छ ।

प्रत्येक जिल्लामा रहेका भगवतीका मठमन्दिरमा नवरात्रिभर विशेष पूजा लाग्ने भएकाले टाढाका गन्तव्यमा जान नभ्याए पनि घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर दशैं बिदालाई उपयोगी बनाउन सकिन्छ ।

देशको न्युज अनलाइनद्वारा २०८१ मा प्रकाशित दसैँ विशेष अंकबाट साभार

इटहरीमा नेपालकै पहिलो सिटी ¥याफ्टीङ्ग

इटहरी बजारको बिच भएर बग्ने ट्याङ्ग्रा खोलामा शनिबारदेखि ¥याफ्टीङ्ग सुरु भएको छ । 
¥याफ्टीङ्गको इटहरी वडा नं ४ का वडाध्यक्ष सहित जनप्रतिनिधी, पत्रकार र स्थानीय व्यवसायी परीक्षण ¥याफ्टीङ्गमा सहभागी भए । इटहरी उपमहानगरपालिका वडा नं ४ का जनप्रतिनिधिको अगुवाइमा खोलामा एक किलोमिटर क्षेत्रमा दुईओटा ¥याफ्टमा परीक्षण ¥याफ्टीङ्ग गरिएको हो । ¥याफ्टीङ्ग  गर्न लागि प्रविधिक सहयोग तमोर, अरुण र सप्तकोशी नदीमा ¥याफ्टीङ्ग गर्दै आएको रीभर डीप ¥याफ्टीङ्गले गरेको छ । 
इटहरी बिच भएर बग्ने खोलको सदुपयोग गर्दै व्यवसायिक ¥याफ्टीङ्ग गर्नका लागि सम्भाव्यता अध्ययन गर्न शनिबार परीक्षण ¥याफ्टीङ्ग  गरिएको वडा अध्यक्ष चन्द्र भट्टराईले बताउनुभयो । 
वडा कार्यालयले सम्भाव्यता अध्ययनका लागि वडा सदस्य डिक बहादुर राईको संयोजकत्वमा ५ सदसिय सम्भाव्यता अध्ययन समिति समेत गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि खोलामा ¥याफ्टीङ्ग र खोलाको दुवैतर्फ बगैचा बनाउनले योजना गरेको अध्यक्ष भट्टराइले बताउनुभयो । 









National Convention for CA Students को केही झलक

विराटनरमा २०७२ चैत ५ र ६ गते भएकाे सिए पढ्ने विद्यार्थीको राष्ट्रिय भेला । भेलामा तीनसय बढी सिए विद्यार्थीहरुको सहभागीता थियो । जसमा काठमाडौंका १५० जना विराटनगरका १५० जना र भारतकाे सिलिगुढीका ४० जना विद्यार्थी सहभागी थिए । 
























इटहरी गोल्डकपको उपाधि काकडभिट्टालाई (फाेटाे फिचर सहित)

सुनसरी ६ चैत । सुनसरीको इटहरीमा सम्पन्न १० औ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काकडभिट्टा टे«निङ सेन्टर झापाले जितेको छ ।

घरका छतमा समेत बसेर फुटबल हेर्दै



फुटबल कुदाउँदै खेलाडी

आफ्नो पक्षमा बल खोस्दै









राखेपका सदस्य सचिव सहित खेल हेर्दै

दर्शक

गोल्डकपको रिपोर्टिङमा रहेका पत्रकार खेल हेर्दै

विजेता खेलाडीलाई मेडल दिदै राखेप सदस्य सचिव केशव बिष्ट

विजेता टीमलाई ट्रफी दिदै राखेप सदस्य सचिव केशव बिष्ट

विजेताको खुसी 



जनता स्कुलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा फेन्स क्लब बिआरसी भुटानलाई ट्राइब्रेकरमा २ का बिरुद्ध तीन गोलले हराउँदै काकडभिट्टाले उपाधि सहित नगद एक लाख एघार हजार एक सय ११ रुपैयाँ जितेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुङ्गीएपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा काकडभिट्टा ट्रेनिङ् सेन्टरका रवि थापा, दिलेन लोक्तान र खमीर दिलसान लिम्बुले प्रहार गरेको बल गोलमा परिणत भयो । सुविन मैनाली र बुद्ध चेम्जोङ्ले प्रहार गरेको बल बिआरसी भूटानका गोलरक्षक राजु नगरकोटीले रोके । बिआरसी भूटानका वर्तमान राई र विक्रम लिम्बुले प्रहार गरेको बल मात्र गोलमा परिणत भयो । भूटानका निराजन खड्का, दिनेश कार्की र धिरज तामाङ्ले प्रहार गरेको बल काकडभिट्टाका गोलरक्षक मनोज प्रधानले रोकेका थिए । आजको खेलमा काकडभिट्टाका गोलरक्षक मनोज प्रधान म्यान अफ दी म्याच भए उनले नगद ५ हजार रुपैया पाए । खेलको सर्वाधिक गोलकर्ता भुटानका धिरज तामाङ भए उनले १२ हजार बराबरको मोवाइल पुरस्कार पाए । इटहरी फुटवल क्लवका विपिन तामाङको उदयीमान खेलाडी घोषित भए । उनले २२ इन्चको एलइडी टिभी उपहार पाए । त्यस्तै काकडभिट्टामा बुद्ध चेमजोङले प्रतियोगितको उत्कृट खेलाडीको उपाधिसगैं २४ इन्चको एलइडी टिभी पुरस्कार पाए ।
राष्ट्रिय जागृति क्लवको आयोजनामा भएको प्रतियोगिताको उपविजेता भुटानले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, एन्फा उपाध्यक्ष किशोर राई, इटहरी नगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले पुरस्कार, ट्रफी र प्रमाणनपत्र वितरण गरेका थिए ।
आठौं संस्करणसम्म स्वर्गीय दानवहादुर फूयँल स्मृति गोल्डकपका नाममा हुदै आएको फुटबल प्रतियोगितालाई गतवर्षदेखि इटहरी गोल्डकपका नाममा खोलाइन थालेको हो । फागुन २९ गतेदेखि  गोल्डकपमा आठओटा टीमको सहभागिता थियो ।

 
धन्यवाद