फेसबुकका भित्ता, दशैं र गजल

यात्री शेखर
 

गरीब दुखी निमुखालाई रुवाउँन आयो दशैं ।
रुवाएर आशुको भेलमा डुबाउँन आयो दशैं ।

राम्रो लाउनी मीठो खानी रहर सबैलाई हुन्छ,
यसपाली नी आशै आशमा भुलाउन आयो दशैं ।

चितवनकी सञ्चारकर्मी फुच्ची जमुनाले यो माहौलमा यस्तै शेर जुटाइन् । गजल बनाइन । र फेसबुक मार्फत पु¥याइन देश विदेश । यस्ता भावना पोख्न होस् या सिर्जना बाँढन होस् चाहे खबर र शुभकामना आदन प्रदान गर्न होस् भर्चुअल संसार अर्थात इन्टरनेटको  दुनियाँ काफी भएको छ आजभोली । सिर्जना बाँढ्न, सुचना सम्प्रेषण गर्न, निम्ता पठाउँन मात्र हैन, सभा, बैठक र जमघट समेत भर्चुअल संसारमै हुन थालिसकेका छन् । केहि संघ संस्थाले नियमित बैठक, साधारणसभा भर्चुअल संसारमै गरिरहेका छन् । नेपाली ब्लगर एसोशिएसनले धेरैवटा साधारणसभा भर्चुअल संसारमै सकेको छ । विभिन्न देशमा रहेका सदस्यहरू भेलाहुने सजिलो माध्यम बन्यो भर्चुअल संसार । प्रविधिको विकास संगसगैं हाम्रा धेरै गतिविधिहरू या ेसंग जोडिए ।  चाहेर पनि नचाहेर पनि । हाम्रा चाडपर्व, संस्कारका असरहरू भर्चुअल संसारमा छाइरहेका छन् । चाहे त्यो फेसबुक होस् या ट्वीटर । ब्लग होस या वेबपेज । यी सबै अहिले दशैंमय भएका छन् । कतै शुभकामना छन् त कतै भावना र सिर्जनाहरू ।
फुच्ची जमुनाको जस्तै थुप्रै सर्जकले सिर्जनामा दशैंलाई आफ्नो बनाए । कसैले हुनेहरूको बनाए । कसैले नहुनेहरूको बनाए । हुनेकै मात्र बनाइदिने श्रष्टा धेरै छन् । कथा, कविता, मुक्तक भन्दा भर्चुअल संसारमा बाहुल्यता छ गजल गोहरूको । दशैंमात्र हैन भगवानलाई समेत हुनेकै बनाई दिए रामशरण श्रेष्ठले गजलमै यसरी
कसैको दशैं धुमधाम हुन्छ ।
कसैको दशैं सुनसान हुन्छ ।

हुनेहरूकै हो भगवान पनि
न त नहुनेको भगवान हुन्छ ।


दशैंको माहौल छ सबैतिर । भर्चुअल संसार यो भन्दा बाहिर रहेको भए सायद फुच्ची जमुना र रामशरण श्रेष्ठ जस्तै रवि प्राञ्जलका यी गजल हामीले पढ्न पाउथ्यौ÷पाउँदैनथ्यौं । पाए पनि कति समय पछि पाउँथ्यौ होला  या त हामीले पढ्नै नपाई उनीहरूकै डायरीमा पूराना हुन सक्थे । हराउँन सक्थे । 
कसरी देखाऊँ ओठमा हाँसो चिरेर छाती यो ।
सिस्नु झै पोल्छ दशैंको बेला फूल र पाती यो ।

उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

शरदको बेला फुलेन फूल फर्केन प्रियतम,
न बल्छ झल्ल न निभ्छ झ्याप्प मनको बाती यो ।

विदेश जानेको पर्खाइमा बस्नेको पीडा प्राञ्जलका यी शेरले दशैंमा बल्झाइ दिएका छन् । यस्तै भावनाको कुम्लो कुटुरो गजलमा पोको पारेर भर्चुअल संसारमा विसाउनेहरूको संख्या यकिन छैन् । न यकिन गरेर नै सकिन्छ । एउटै नदिमा मिसिने धेरै खहरेहरू झै केहिका भावनासंग एकाकार हुन भने सकिन्छ । र हुन पनि पर्छ । विवशता, बाध्यता र अभावका विच धेरैको दशैं आएको छ । जसरी नी दशैं मनाउने एउटा जमातलाई देशको वर्तामान परिवेशसंग बसन्त क्षितिजले जोडिदिए
नेता विक्रिमा, दशै खसी बोका बिक्रिमा
अभावले हेर, घरको झ्याल ढोका बिक्रिमा

आउ हेर संविधान आशा र हाम्रो उठिबास
कुटेको गिट्टी, हातमा उठेको फोका विक्रिमा ।

काम गरेर खानेलाई दशैं भर्चुअल संसारमा भेटिएका यी गजलहरूले भने जस्तै अभावका विच पनि उक्लनै पर्ने बाध्यताको पहाड भएको छ । खर्च गर्ने ठाउँ नहुनेहरूले तामझाम गर्ने मौका पाएका छन् । यस्ताको तडक भडकले देखासिकीमा धेरैलाई थेग्न मुस्किल छ दशैं । कसैलाई एकसरो लाउन पनि हम्मे हम्मे छ । सर्जकहरूलाई सबैको खुसी हेर्ने मन हुन्छ । सबैले उमंगका साथ दशैं, तिहारलगायतका चाडपर्व मनाएको देख्न चाहन्छन् । उनीहरू भर्चुअल संसारमा होस् या यथार्थमा मानिसलाई पीडामुक्त रुपमा भेट्न मन पराउँछन् । आफु र आफ्नो भन्दा आम नागरिकको आवाज बोल्छन् । गजलमा पनि उनीहरू यस्तै यस्तै तानाबाना बुन्छन् र दिन्छन् हामीलाई । ‘घाँटी हेरेर हाड निल्नुपर्छ ’ हाम्रो समाजमा पहिलेदेखि भन्दै आएको छ । सर्जकहरू यसलाई नै मानिसका मन मनमा पु¥याउँन लागि परेका छन् । अभाव, बाध्यता, विवशता, पीडा उनेर खुसीका माला गाँस्न तल्लिन छन् उनीहरू । त्यसो हुन्नथ्यो भने शुरेस बिडारी विवसले यस्तो गजल किन लेख्थे ।
रातो टीका लगाएर मनाउँन दशैं ।
माछा मासु नखाएर मनाउँन दशैं ।

नयाँ लुगा दशैंमै किन्नै पर्छ होइन,
पुरानै त्यो सजाएर मनाउँन दशैं ।

अरूको देखासिकी ऋण हुन्छ भारी,
खर्च गर्न डराएर मनाउँन दशैं ।

एउटा खुसी अर्को दुखी हुन नपरोस्,
सबै सधै रमाएर मनाउँन दशैं ।




0 comments:

 
धन्यवाद