गजलमा गर्जदै पूर्वेली ...

महामाया मासिकमा 

नियति नै यस्तै भनी नारीहरु झुक्नुहुन्न ।
लजालु त्यो घुम्टो ओढी भयो अब लुक्नुहुन्न ।

तेज बनी बगिरहे ढुङ्गो छेड्छ पानीले’नि,
विश्वासको हिमनदी खहरे भै सुक्नुहुन्न ।
इच्छा, चाहना र अधिकार पूरा गर्न लागि पर्नुपर्छ भन्ने दृढता बोकेको गजलका यी दुई शेर मायामितु न्यौपानेले निर्वासित चराहरु गजलसङ्ग्रहमा राखेकी छन् । भुपेन्द्र तिम्सिनासँगको संयुक्त सङ्ग्रहमा रहेका उनका अधिकतर गजल नारी चेतनाले भरिएका छन् । मानवीय संवेग र नेपाली परिवेशलाई आधार बनाएर शेरहरु बुन्छिन् उनी । नारी मनलाई गजलमा दुरुस्त उतार्नु उनको अर्को विषेशता हो । महिलालाई कमजोर ठान्ने हाम्रो समाजको मासिकताविरुद्ध उनी गजलमार्फत् सोझो प्रतिवाद गर्छिन् ।

मायामितु न्यौपाने
नारीलाई कुहिरोको काग नसम्झ ।
सप्तरङ्गी इन्द्रेणीलाई दाग नसम्झ । 
०००
एक शताब्दी पार गरिसक्दा नेपाली गजलले थुप्रै स्रष्टा र सिर्जना जन्माएको, हुर्काएको, फुलाएको, फलाएको छ । गजल सिर्जनाका फाँटमा पुरुष स्रष्टासरह नारीहरु पनि उत्तिकै सशक्त भएर देखापरेका छन् । नेपालको पूर्वी भागमा बसेर सिर्जना कर्ममा जुटेका अधिकतर नारी सर्जकहरुले देशकै प्रतिनिधित्व गरेका छन् । उनीहरु गजलको बागमा फुलेका छन्, थरीथरी फूल भएर । गजलको छालमा शृङ्गारिक मात्र नभएर पीडा, उत्कण्ठा, आवेग, आक्रोस ओकल्दै हेलिएका छन् । सामाजिक संरचनाले थोपरेको भारीविरुद्ध गर्जिएका छन् । भेद्भाव चिर्न चर्कोस्वर उरालेका छन् ।  परिवेश बुझ्न नसक्दा उत्पन्न हुने अप्ठेरो र खतराले जीवनलाई दुखी बनाउने हुँदा नारी सचेत हुनुपर्ने ध्यानाकर्षण गराउँदै ज्योति जङ्गलले अक्षरमा तिमी भित्र नारी मनको कोमल भाव पोखिन् ।
ज्योति जङ्ग
पूजा गर्छु भन्छन् र दास बनाउँछन् ।
माया गर्छु भन्छन् र लास बनाउँछन् ।
०००
सम्बत् १९४० को दशकमा मोतीराम भट्टका पालादेखि सुरु भएको नेपाली गजल लेख्ने, भन्ने, सुन्ने आधुनिक धाराप्रवाहले अहिले विशाल कोसीको आकार लिइसकेको छ । त्यही परम्परामा हिजोआज अनेक विशिष्टीकरणसहित थुप्रै खहरेहरु मिसिएका छन् । सिर्जनाबाटै सागर छुने चाह बोकेर पूर्वका नारी गजलगोहरुले जनताको पक्षमा हुने आन्दोलनमा काम लाग्ने गरी आफ्ना रचनालाई हतियार बनाएका छन् । देश परिवर्तनका लागि हुने–गरिने सङ्र्घषलाई सजिलो पार्न सिर्जनाशक्ति पनि मिसाइदिएका छन् । त्यहाँ महिला र पुरुषको भेद्भाव छैन् । कोही कमजोर छैनन् । टीका ‘आत्रेय’ पौडेलले पनि मनको क्षितिजमा यस्ता शेरलाई निकै महत्व दिएकी छन् ः
 टीका ‘आत्रेय’ पौडेल
नारी आफैँ महान शक्ति ऊविना यो जगत छैन ।
सृष्टि शून्य हुन्छ जब नारीको त्यो रगत छैन् ।
०००
अक्करबाट झर्ने खहरे झैं पूर्वेली नारी सर्जकका शक्ति वेगले गजलका शेरमा हानिएका छन् । खहरेको सङ्गमविना सागर पनि अपुरो हुने भावना छल्काएका छन् । नारी एकजुट भएर समाज निमार्णमा जुटनुपर्ने आह्वान प्रायः सबै नारी स्रष्टाका गजल लेखनको सार हो ।

नारी हामी एकजुट नभई यो समाज चल्दैन है ।
दृष्टि हाम्रो सही नभई नयाँ नेपाल बन्दैन है ।
आरती पोखरेल ‘अनु’ले धरातलमा उभिएर भित्र यस्ता थुप्रै शेर बुनेकी छन् । अनु मात्र हैन पूर्वका सबैजसो नारी सर्जकले यस्तो विचार भावनामा मुछेका छन् । अन्तरमनका भावहरु अभिव्यक्त गरेका मात्र छैनन्, अस्तिवको रक्षाका लागि लडाइँ मैदानमा उत्रिएको घोषणा गर्न शव्दको पाञ्चजन्य पनि बजाएका छन् ।
रोमा निरौला
पूर्वका नारी गजलगोहरुका एकदिन आफ्नो अस्तित्व गाढा बनाउने अभिलाषा ताजै छ । र, त्यो पूरा हुने विश्वास पनि दृढ छ सिर्जनाहरुमा । एक जुगमा आउने एक दिन र त्यस दिन हुने विशेष अनुभूतिको पर्खाइमा छन् उनीहरु । गजलकार रोमा निरौलाले गजल सञ्चयन पर्खाइमा यस्तै उद्घोष गरेकी छिन् ः
इतिहासको पानामा अट्ने मेरो नाम छैन ।
राष्ट्रियता झल्काउने कुनै काम छैन । 

तारा टिपें, जून टिपें सिर्जनामा अटाइसके,
मेरै आत्मा अटाउने कुनै पनि ठाम छैन ।
ठाउँको खोजीमा साहित्यमा लागेका पूर्वेली नारीले आफ्ना मागलाई गजलमा मजैले अटाएका छन् । पूर्वका विभिन्न गाउँ (ठाउँ)मा बसेर सिर्जनाकर्ममा लागेका नारी सर्जकहरुले देश र समाजको वास्तविकतालाई भावनामा उनेका मात्र छैनन्, परिवर्तनका लागि आवाज बुलन्द पनि बनाएका छन् ।
           गजल लेखनमा खरो उत्रिने पूर्वका दुई दर्जनभन्दा बढी नारी स्रष्टाले गजलको सागरमा आफ्ना सङ्ग्रह सुम्पिसकेका छन् । सुमित्रा बाङ्देल ‘चेली’ सङ्ग्रह सार्वजनिक गर्नेमा अग्रपङ्क्तिमै  पर्छिन् । सङ्ग्रह लोकार्पण गर्नेहरु सीता आस्था, अञ्जु अञ्जली, लीला अनमोल पनि चेलीकै लहरमा उभिएका छन् । बन्दना खालिङ, पार्वता पोमु, ममता राई, दीपा दाहाल, दीपिका मिश्र, एलिना सङ्ग्रौला, अम्बिकाकडरियाले पनि गजल कृति दिइसकेका छन् । पूर्वमा गायत्री विष्ट गाउँले, सीमा आभाष, करुणा राईलगायतका नारी स्रष्टा गजल लेखन यात्राका अविराम यात्री मानिन्छन् । मन्दिरा मधुश्रि, चन्दा खड्का, सलोजा स्काई, सविता खतिवडा, पुनम अधिकारी, मञ्जु आचार्य, सविता याक्खा, निसम माबोलगायतका स्रष्टा पूर्वेली गजल हाँक्ने युवादस्ताका सारथी हुन् । थुप्रै सम्भावना बोकेर नेपाली साहित्यमा अगाडि बढिरहेका यिनीहरुमध्ये कतिपयले कृति ननिकाले पनि गजल सिर्जनाको फाँटमा दरिलो उपस्थिति देखाएका छन् ।
सीमा आभाष
       पश्चिमी संस्कृतिले धावा बोलिरहेको परिवेशमा गुज्रिरहेछ हाम्रो समाज । यो अवस्थाबाट नेपाली नारी पनि अलग छैनन् । त्यसैले सारा नेपाली नारी मात्र नभएर स्रष्टा र सर्जकलाई गजलकार सीमा आभाषले गजलमै सचेत गराएकी छन् । उनका यी शेरले भनेजस्तौ भावना पोख्दै सहनु मात्र हैन अधिकार लिन सजग र सचेत भएर लाग्नुपर्ने बेला आएको छ ः
तिम्रो लोग्ने कृष्ण बन्दा सीता किन बन्छ्यौ कान्छी ?
नारीले नै अन्यायलाई सहु किन भन्छ्यौ कान्छी ?

सानैदेखि चुला–चौका नोकर बन्ने पाठ सिकी,
आफैँलाई गाड्ने खाल्टो आफैँ किन खन्छ्यौ कान्छी ?

2 comments:

 
धन्यवाद