मुरलीधर भन्छन् “महानायक मान्दिन”


नेपालका डेढ दर्जन बढी फिल्ममा अभिनय गरेका,  रामायण र मिस्टर इन्डियालगायतका दर्जन बढी चर्चित सिरियल तथा सिनेमामा अभिनय गरेर बलिउडमा जमेका मुरलीधर मिजार एक कुशल अभिनेता मात्र होइनन्, गीतकार, सङ्गीतकार र गायकसमेत हुन् । डेढसय बढी नेपाली, छ दर्जन हिन्दी, सय बढी मैथिली र भोजपुरी गीत गाएका मुरलीधरका उडायो सपना सबै हुरीले ..., निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ... जस्ता गीत नेपाली सङ्गीतप्रेमीले कहिल्यै नभुल्ने गीत हुन् । हाल भारतको मुम्बईलाई कर्मथलो बनाएका कला र गलाका धनी मुरलीधर फिल्म निर्माणका लागि पूर्व आएका बेलामा गरेको कुराकानीको सारसंक्षेप ः
अहिले नेपाली फिल्ममा मुरलीधर कम देखिनुको कारण के होला ? 
हैन, दुई–तीन वर्षअगाडि ‘सन्देश’ आएको थियो । त्यसपछि धेरै अफरहरु त आए । तर, म मैथिली, भोजपुरी फिल्म बनाउन लागेकाले नेपाली फिल्ममा समय दिन नभ्याएको हो ।
कलिउडको माया मर्दै गएको हो ?
कसरी माया मार्नु, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ । कसरी आफ्नो माटो र भाषालाई माया मार्नु हौ ?
नेपाली फिल्ममा सुनिल थापाको उदय भएपछि मुरलीधरको क्रेज हरायो भनिन्छ नि ? 
क्रेज भन्ने कुरा बेग्लै हो । कार्यशैली बेग्लै हो । मेरो बसाइ मुम्बईमा छ, त्यसैले सबैलाई लाग्छ कि मुरलीधर धेरै महँगो कलाकार हो । हवाइजहाजमा ल्याउनुपर्छ, धेरै पारिश्रमिक दिनुपर्छ । मान्छेहरुले मेरोबारे धेरै हौवा फैलाए, तर त्यस्तो होइन । फिल्मको मामलामा भने म छानेर मात्र काम गर्छु ।
मैले छोडेका धेरै फिल्म अरु साथीहरुले गरेका छन् । पर्दामा देखिन छाड्नेबित्तिकै मानिसहरु बिर्सन थाल्छन् । सङ्गीतको मामलामा मैले २६ वर्ष अगाडि गाएको ‘उडायो सपना सबै हुरीले ’ अहिले पनि मानिसहरुले सम्झिरहन्छन् । काम गरिरहने हो भने मात्र चर्चा भैरहन्छ । त्यसैले फलानो माथि आयो, फलानो तल झ¥यो भन्ने हुँदैन ।
मुम्बईमा चाहिँ कसरी समय बितिरहेको छ ? 
म अभिनय र सङ्गीतकै काम गर्छु । भोजपुरी र मैथिलीमा सिनेमा बनाइरहेको छु ।
अहिले नेपाली सिनेमाको स्तर कस्तो छ ?
बर्सेनि सयौं फिल्म निर्माण भैरहेका छन् । तर, दर्शकले मन पराउनु र व्यापार गर्नुलाई दाँज्ने हो भने कुरा फरक छ ।  नेपालको धेरै भूभागमा छरिएका कथा छन्, जुन समेटिएका छैनन् । विदेशी चर्चित फिल्मका नक्कलहरु बनाइएका छन् । नेपाली फिल्मले नेपाली मौलिकता र माटो बोल्नुप¥यो ।
मुरलीधरको नजरमा नेपाली सेलीब्रेटी को हो ?
जो चर्चित भएका छन् । अभिनय गरेर मलाई पनि प्रभावित बनाउने नेपाली कलाकार हुन्, मुकुन्द श्रेष्ठ र रामचन्द्र अधिकारी । अरु पनि राम्रा छन् । कलाकारहरु हरिहर शर्मा, नीर शाह तथा महानायक मानिने राजेश हमालको अभिनय मन पर्छ । मेरा लागि मेरा सिनियरहरु सबै सेलीब्रेटी हुन्, जसले अभिनय कला क्षेत्रलाई जिउँदो राख्न मद्दत गरेका छन् ।
महानायक भन्ने कुरा पनि विवादमै छ हैन र ? 
हिरो हुन् । फिल्म खेलेका छन् । तर, म कसैलाई महानायक मान्दिनँ ।
मुरलीधर बलिउडमा मजाले जम्न सकेन भनिन्छ नि ? 
नजमेको हैन । बलिउडका धेरै फिल्ममा मैले काम गरेँ । नजमेको भए काम नै पाउने थिइनँ । दुःखद् कुरा के भने म स्क्रिप्ट हेरेर त्यसअनुसार अभिनय गर्थेँ । तर, सिनेमा प्रदर्शन हुने बेलामा मेरो भूमिका नै सानो बनाइएको हुन्थ्यो । सम्पादनको कैचीले काटेर खुम्च्याइयो ।
नेपालको राजनीतिबारे कुनै टिप्पणी छ कि ?
कलाकार मान्छे राजनीतिबारे के भन्नु ? सबैभन्दा पहिले नेपाली जनता जागरुक हुनुप¥यो । हाम्रो देशमा जातीय राजनीति गरिनुहुन्न । अहिले त्यसको बिउ रोपिएजस्तो लाग्छ । नेताहरुले यसबारे सोच्नुपर्छ । जातीयताभन्दामाथि उठेर
राष्ट्रियताप्रति प्रतिबद्ध हुनपर्छ, सबै नेपाली जनता सांस्कृतिक रुपमा एकजुट हुनुपर्छ । ०००
पूरानो आलेख, कलेज टाइम्स २०६९भाद्र अंकबाट 

0 comments:

 
धन्यवाद