तन्नेरीले डान्सलाई नै फेसन बनाए हौ



किशोर–किशोरी त आफ्ना हरेक गतिविधि अरुले मन पराउन् भन्ने ठान्छन् । समाजमा आफूलाई फरक स्थापित गर्न मानिसमा कला हुनैपर्छ । यही कला सिक्न अहिलेको पुस्ता आतुर छ । 

कुशल कोरियोग्राफर बन्ने लक्ष्य बोकेकी सोनी विक इटहरीको सङ्गीत चोकमा रहेको बिहानी डान्स सेन्टरमा नृत्यकला सिक्दै छिन् ।

साझीलाल उच्चमावि दुलारीमा कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी विक युवापुस्ताले मन पराउने डान्स सिक्न सेन्टरमा आएकी हुन्। ‘पहिला–पहिला नाचेर हिँडे पनि अरुलाई आकर्षण गर्ने डान्स कसरी गर्ने तरिका थाहा थिएन,’ उनले भनिन्, ‘त्यसका लागि डान्सको ‘फर्म’मा रहनुपर्दो रहेछ ।’  त्यसै मानिसलाई मानिसलाई आकर्षण गर्न नसकिने भएपछि नृत्य सिक्नै परेको विकको भनाइ छ ।
सोनीको भन्दा फरक उद्देश्य बोकेका मुनाल पुरी जनसहयोग उच्चमावि तरहराबाट प्लसटु सकेका किशोर हुन् । इटहरी आइतबारेमा रहेको नागी डान्स सेन्टरका प्रशिक्षार्थी पुरी भने डान्स सिकेर अरुलाई बाँड्न चान्छन् ।
प्लसटुपछि फुर्सदको समय सदुपयोग गर्न र स्वस्थ रहन डान्स सेन्टर आएका सुभेष चौधरीले नृत्य प्रशिक्षणले साथीसँग घुलमिल हुन र सहयोगी बन्न समेत मद्दत गरेको अनुभव सुनाए ।
दुईवर्षदेखि नृत्य साधनामा लागेकी रिया श्रेष्ठ डान्सले अरुसमक्ष प्रस्तुत हुन आत्मबल थपेको बताउँछिन् । कोसी कजेलमा अध्ययनरत् रिया सेन्टरमा आउने नयाँ विद्यार्थीलाई सिकाउन सक्ने समेत भएकी छन् । उनी भन्छिन्, ‘लगन र मेहनत भयो भने डान्स चाँडै सिकिन्छ । यसले करियर बनाउनसमेत सहयोग पु¥याउने रहेछ ।’
आफूलाई फरक स्थापित गर्ने सबैलाई रहर हुन्छ । शारीरिक आकर्षणदेखि आफ्ना क्रियाकलापसमेत अरुले रुचाउन् भन्ने चाहनु नौलो कुरा होइन । युवाहरुको त्यस्तै रहरले उनीहरु डान्स सेन्टर धाइरहेका छन् । बिहानी डान्स सेन्टरमा तीन महिनादेखि कक्षा लिइरहेका सुनिलकुमार ठाकुर, शङ्कर श्रेष्ठ हुन् या दुई वर्षदेखि नागी डान्स सेन्टरमा प्रशिक्षणरत रिया श्रेष्ठ, रीना न्यौपाने, देव चौधरी हुन् सबै किशोरवयका युवा–युवती हुन् । इटहरी दर्शन र पूर्वाञ्चल मकालुलगायतका आधा दर्जन डान्स सेन्टरमा पनि उनीहरुजस्ता धेरै युवा–युवती नृत्य सिकिरहेका छन् ।
रहरै–रहरमा डान्स सेन्टर धाउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ । आफूमा रहेको प्रतिभा उजागर गर्न भन्दै उनीहरु सेन्टर धाउने गरेका छन् । प्रायः बिहान बेलुका सञ्चालन हुने कक्षामा उनीहरु आफ्नै रुची र इच्छाअनुसारका नृत्य गरिरहेका हुन्छन् । इटहरीका डान्स सेन्टरहरुले, शास्त्रीय, मोर्डन, साल्सा, विबोइङ, कन्टेम्पोरी, कल्चरललगायतका नृत्य सिकाउने भन्दै युवा–युवतीलाई आर्कषित गरिहरेका छन् । त्यसो त युवापछि विद्यालय जाने बालबालिकाको सङ्ख्या पनि कम छैन डान्स सेन्टरहरुमा । बालबालिकाहरु भने केही आफ्नो रहरले नृत्य सिकिरहेका छन् भने केही अभिभावकको इच्छा पूरा गर्न नाचिरहेका पाइन्छन् । यीबाहेक गृहणीहरु पनि शारीरिक व्यायामका लागि डान्स सेन्टर धाउने गरेको दर्शन डान्स सेन्टरकी प्रबन्ध निर्देशक अम्बिका श्रेष्ठले बताइन् ।
यसरी युवापुस्ता झुम्मिन थालेपछि सेन्टरहरु थपिने क्रम बढ्दो छ । हरेक डान्स सेन्टरमा सयदेखि दुई सय जनाले दिनहुँ नृत्य सिकिरहेका छन् । प्रायः सबै डान्स सेन्टरले एक महिनामा नृत्य सिकाएको पाँच सय रुपैयाँ लिदै आएका छन् । नृत्य जान्नेहरुले यसलाई व्यवसायकै रुपमा अगाडि बढाउन थालेका छन् । तीन महिनाअगाडि पूर्वाञ्चल मकालु डान्स सेन्टर सुरु गरेका लक्ष्मण श्रेष्ठ अहिले दैनिक एक सय ८० जनालाई डान्स सिकाउँछन् । उनी भन्छन्, ‘व्यावसायिक डान्स सेन्टर चलाएर जीविकोपार्जन गर्ने अवस्था बिस्तारै बन्दैछ ।’
तीन महिनाअघि सुरु भएको बिहानी डान्स सेन्टरका प्रबन्ध निर्देशक दीपक पोख्रेल भने डान्स सेन्टरबाटै जीविकोपार्जन नहुने बताउँछन् । भन्छन्, ‘यसको व्यावसायिक पाटोभन्दा पनि इटहरी क्षेत्रमा छरिएर रहेका डान्सर र कलाकारलाई एकै थलोमा ल्याउन सेन्टरको स्थापना गरेका हौं ।’
पूरानो आलेख, कलेज टाइम्स २०६९ कात्तिक अंकबाट 

0 comments:

 
धन्यवाद