लडाकुबाट सेना बनेपछि........

नेपाली सेनामा समायोजन भएका पूर्व माओवादी लडाकुले सेनाको आधारभुत तालिम सकेका छन् ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले शुक्रबार मोरङको लेटाङमा कार्यक्रम गरि तालिम सकेका लडाकुलाई अन्तिम दलेल कवाज गराएर तालिम सकेको जनाएको हो ।
नेपाली सेनाको पूर्वी पृतनामा तालिमरत ८० जना माओवादीका पूर्वलडाकुलाई सेनाको पूर्वी तालिम शिक्षालय लेटाङमा कार्यक्रम गरेर दलेल कवाजमा सहभागी गराएको हो । माओवादी सेन्यवाट सिपाही भएका जवानहरुको कवाजको पूर्वी पृतनाका पृतनापति उपरथी विनोज बस्न्यातले निरिक्षण गरे । निरीक्षण पछि सम्बोधन गर्दै उपरथी बस्न्यातले नेपाली सेना नेपाली जनताको गौरव भएको बताए । समायोजित लडाकु तालिम पछि राष्ट्रिय सेनाको कर्मठ, अनुशासित, निष्पक्ष, गैरराजनैतिक र पेशेवर सैनिक सदस्य हुने उनको विश्वास छ ।
पूर्वीपृतना शिक्षालयमा तालिम सक्ने ८० मध्ये एकजना सुवेदार, एकजना जमदार, ११ जना हुद्धा, १० जना अमलदार, १३ जना प्युठ र ४४ जना सिपाही रहेको पृतना इटहरीले जनाएको छ । अहिले सबैलाई अधारभुत तालिममात्र दिएकाले दर्जा अनुसारको तालिम पछिमात्र दज्र्यानी चिह्न प्रदान गरिने उपरथी बस्न्यातले बताए ।
मोरङको लेटाङ स्थित पूर्वी पृतनाको तालिम शिक्षालयमा भएको कार्यक्रममा पूर्वका सुरक्षा प्रमुख, नागरिक समाज, विभिन्न क्षेत्रका व्यक्तिका साथै समायोजित लडाकुका आफन्तहरुको बाक्लो उपस्थिति थियो ।
समायोजित माओवादी लडाकुमध्ये देशका विभिन्न आठवटा तालिमकेन्द्रमा एक हजार तीन सय ५२ जनाले तालिम सकेको नेपाली सेनाले जनाएको छ । पूर्वमा पूर्वी पृतना तालिम शिक्षालय इटहरी र सैन्य तालिम गुल्म हिलेका तालिम दिइएको थियो ।  




















0 comments:

 
धन्यवाद