व्यापारीको चुनावी तामझाम

 नयाँ नेतृत्वका लागि चारदलका दुइ प्यानल 
उद्योग बाणिज्य संघ इटहरीको असार २० गते शुक्रबार हुने निर्वाचनका लागि चारदलका दुई प्यानल खडा भएका छन् ।
पन्ध्रौं साधारणसभासम्म आइपुग्दा दोस्रो पटक हुन लागेको निर्वाचनमा अध्यक्षका लागि  नेपाली काँग्रेस निकटका रोहित प्रसाई र नेकपा एमाले निकटका उमेश पौडेल विच प्रतिष्पर्धा हुनलागेको हो । प्रसाइलाई नेकपा–माओवादी र पौडेललाई एकीकृत माओवादीको सर्मथन छ ।
एउटा पार्टी निकटकालाई अर्को पार्टीले सहयोग गर्ने भएपछि दुइवटा प्यानल खडा भएको छ । उद्योग तर्फ चार सदस्यको पदमा १० जनाले उमेदवारी दिएका छन् । वाणिज्य तर्फ आठ सदस्यका लागि २१ जनाले उमेदवारी दिएको निर्वाचन आयोगका सदस्य किशोर भण्डारीले बताए । उद्योग तर्फ सदस्यका लागि लिलम बस्नेत, दिवस पोखरेल, बिष्णु डागी, ईश्वरी पराजुली, बजरंग अग्रवाल, शम्भु थापा, लक्ष्मण हुमागाई, कृष्ण सापकोटा, श्याम लुइटेल र निर्मल रिजालले उमेद्वारी दिएका छन् । इश्वरी, दिवस, विष्णु, लक्ष्मण र निर्मल प्रसाई प्यानलका हुन भने बजरंग, कृष्ण, लिलम र  श्याम पौडेल प्यानलमा छन् ।
वाणिज्य तर्फ सदस्यमा भीम पौडेल, दुर्गा अधिकारी, श्याम रिजाल, शैलेश बिष्ट, नवराज काफ्ले, उमानाथ (उमेश) दाहाल, रितेश श्रेष्ठ, सूर्यबहादुर रायमाझी, हेमप्रसाद घिमिरे, कालीबहादुर बस्नेत, कुलबहादुर (राजकुमार) कार्की र सुनिल अग्रवालले उमेदवारी दिएका छन् । भीम, दुर्गा, श्याम, नवराज, उमानाथ, कालीबहादुर र सुनिल प्रसाई पक्षमा छन् । शैलेश, रितेश, सूर्य र कुलबहादुर पौडेल पक्षमा छन् । एक महिला सदस्य पदमा तीन जनाले उमेदवारी दिएका छन् ।
हरेक तीनबर्षको अन्तरमा हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उमेदवार प्रसाई र पौडेलले आ–आफ्नो चुनाबी एजेन्डा प्रस्तुत गदैं उद्योगी–व्यवसायीका हरेक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै १५ दिन अगाडी देखि भोटमाग्न घरदैलो अभियान चलाएका थिए । उद्योग बाणिज्यसंघका उमेद्वारको प्रचार प्रसार सामाग्रीले एकसाता देखि इटहरी रंगिचंगी भएको छ ।
निर्वाचनले अध्यक्षसहित १७ जनाको कार्यसमिति निर्वाचित गर्नेछ । महासचिब, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सचिब भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । इटहरी क्षेत्रमा साना–ठूला गरी सात हजार उद्योगी–व्यवसायी छन् । तर उद्योग बाणिज्यसंघमा भने दुई हजार एक सय १४ जना मतदाता छन् ।





0 comments:

 
धन्यवाद