कविता

नयाँ बर्षले
चैते हुरी र चर्को घामको राप बोकेर
फेरी आयो नयाँ बर्ष
गुराँसको लाली अनि
पालुवाको हरियाली बोकेर ।
आँधि हुरी संग जुध्दै
चर्को घामको सामना गर्दै
गुराँस र पालुवाले
स्वागत गरे नयाँ बर्षलाई
अनि
शुभ कामना बाँढे
समस्या संग जुध्ने
र, अप्ठेरोहरु पार गर्ने ।
यो मौकामा कामना गर्नु छ
भोलीका पलहरुमा
यस बर्षका दिनहरुमा
विगतका विपत्तीहरु भोग्न नपरोस्
कोशीले बस्तिहरु नबगाओस्
कृष्णभिरहरु फेरी नबगुन्
कामना गर्नुछ
सिटामोल नपाएका कर्णलीबासीलाई
चामल नपाएका हुम्लाबासीलाई
नुन नपाएका जुम्लाबासीलाई
यो बर्षचामल र नुन सगैं
टाउको दुख्दा खाने सिटामोल पनि पुगोस्
अनि कामना गर्नुछ
बन्द, हड्ताल र चक्काजाम
कहिले पनि नहोस्
स्कुल, अस्पताल र सडकमा ।
अब कुनै नेपाली सडक उत्रन नपरोस
आफ्नो अधिकारका लागि
अब कोही सहिद बन्न नपरोस
हो, अहिले त संविधान बन्दैछ नी
यो संविधानका धारा र उपधारा
नुन नपाउने जुम्लाबासी देखी
कन्टेनरमा फोहर टिप्ने बालबालीका सम्म
केचनाबासी देखी
नाम्चे बजार बासी सम्म
सबैका भावना र चाहनामा केन्द्रित होस्
कामना गर्नुछ
यो बर्ष अर्थात नयाँ बर्षे
सुख शान्ति र संवृद्धि सगै
हक अधिकार ग्यारेन्टि गरोस्
सारा नेपालीको
माया, सदभाव र भातृत्व बाढ्दै
नेपाली नेपाली विचमा
भाईचारा र बन्धुत्वको नाता गाढा होस्
कामना गर्नुछ
नयाँ बर्षसगै
साच्चिकै नयाँ नेपाल निमार्ण होस् ।

मुक्तक
भिर भरी लाली गुँरास ढकमक्क फुलाएर
तर्राईका फाट भरी नव पल्लव चुमाएर
उमंगको लहर बोकी फेरी आयो नयाँ बर्ष
दिन महिना ऋतु सबै एक चक्कर घुमाएर ।
१. बैशाख २०६६

0 comments:

 
धन्यवाद