अभाव डेडिङ स्थलको

हाम्रो समाज प्रेम र यौनका प्रसङ्गमा खुल्ला हुँदै गइरहेको छ । यो सँगसँगै एकआपसमा रमाउन प्रेमी– पे्रमिकालाई सजिलो पनि भएको छ । यो खुकुलोपनको फाइदा उठाउँदै पे्रमिल जोडीहरु डेटिङ जाने, आपसमा रमाउने क्रम पनि उत्तिकै बढ्दो छ । तर, पूर्वमा व्यवस्थित र उपयुक्त डेडिङस्थल भने छैनन् ।
पूर्वमा थुप्रै रमणीय स्थानहरु छन् । पिकनिक स्पटहरु पनि छन् । यद्यपि, प्रेमी–प्रेमिका ढुक्क भएर रमाउने उपयुक्त स्थान भने नपाइएको जोडीहरुको गुनासो छ । सम्भावना भएका ठाउँहरु थुप्रै भएपनि निर्धक्कसाथ प्रेमी–पे्रमीका आपसमा रमाइलो गर्दै बिताउने व्यवस्थित ठाउँ भने पाउँन मुस्किल छ ।
धरानका मनिला र संजोगको जोडीले ठाउँ नभएर डेटिङ नै जान पाएको छैन । नजिकै जादाँ चिनेका मानिसहरु भेटिने र टाढा जान समय नमिल्ने भएकाले दुई वर्षको अन्तरालमा एकपटक पनि डेटिङ नगएको संजोगले बताए । ‘सामान्य भेटघाट भएपनि डेटिङकै लागि भनेर कतै गएका छैनौं,’ संयोगले भने, ‘नजिकै जाँदा साथीभाइले देख्छन्, टाढा जान समय मिल्दैन । सबैलाई थाहा हुने गरी डेटिङ जान पनि त भएन ।’

परिवार र समाजदेखि लुकेर प्रेम गर्नेहरु भागी–भागी डेटिङमा रमाउने गर्छन् । यसरी सबैबाट लुकेर प्रेम गर्नुको मज्जा नै बेग्लै छ भन्छिन् इटहरीकी प्रशुन । उनको र सिरिशको प्रेम मौलाएको तीन वर्ष भए पनि उनीहरुको पनि समस्या उस्तै छ । नजिकै व्यवस्थित र सुरक्षित डेटिङस्थल नहुँदा एकान्तमा बसेर गफ गर्न नपाएको उनले सुनाइन् । ‘भेट हुँदा पनि होटलमा चिया खाँदै गफ गर्नुपर्ने बाध्यता छ ।
होटलमा चिनेका मानिसले देख्ने चिन्तामा डुबेर भेटहरु कटाउँछौ,’ उनले भनिन् ।
जोडी मानिसको चहलपहल नहुने र आफन्त तथा साथीभाइ नजाने ठाउँको खोजीमा हुन्छन् । त्यस्ता ठाउँहरु रमणीय त हुनै प¥यो । रमणीय ठाउँमा आपसमा खुलेर कुरा गर्दै समय बिताउन र एक–अर्कालाई बुझ्न मद्दत पु¥याउँछ ।
विराटनगरका रमिन्द्रले भने, ‘प्रेम गर्ने भनेर बाटो– बाटोमा देखाउँदै हिड्ने कुरा आएन ।’
उनले पूर्वमा रहेका धेरै ठाउँहरुलाई डेटिङ पार्कका रुपमा व्यवस्थित गर्न सकिने भएपनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान पु¥याउन नसकेको बताए । व्यवस्थित पार्क बनाउन सके आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।
व्यवस्थित पार्कको अभावमा इटहरी, धरान, विराटनगरलगायतका युवायुवती होटल र सार्वजनिक स्थानका खुल्ला ठाउँलाई डेटिङस्थल बनाउन बाध्य भएका छन् । इटहरीको तालतलैया, काब्यबाटिका, सीतागञ्जको शान्तिवन, बेलबारीको
वेतना सिमसार क्षेत्र, झापाको दोमुखा, जामुनखाडी, इलामको कन्याम, धनकुटाको भेडेटारलगायतका ठाउँलाई प्रेमी–प्रेमिकाले डेटिङस्थलका रुपमा प्रयोग गर्दै आइरहेका छन् । तर, यी ठाउँ पारिवारिक र सामुहिक वनभोज गर्ने ठाउँ भएकाले डेटिङका लागि सुरक्षित मान्दैनन् उनीहरु । एकान्त रोज्दै जोडीहरु धरान–भेडेटार सडक वरपर, मोरङ गोठगाउँ क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसर, तरहराको कृषि अनुसन्धान केन्द्रलगायतका ठाउँ रोज्ने गरेका छन् । धरानदेखि पाँच किलोमिटर उत्तर कोसी राजमार्गमा धेरै जोडीहरु कलेज ड्रेसमा नै भेटिन्छन् । हरेक दिनजसो त्यस क्षेत्रमा यस्ता जोडीहरुको लर्को लाग्नेगरेको स्थानीय बताउँछन् ।
त्यसो त चलचित्र हेर्न हलमा जाने, विभिन्न होटलहरुमा नै डेटिङ जानेको सङ्ख्या पनि उत्तिकै छ । विराटनगरका दीक्षान्त र रस्मिता हरेकसाता चलचित्र हलमा बिताउने गर्छन् । उनीहरु एकै दिनमा दुई पटकसम्म फिल्म हेर्छन् । दीक्षान्तले भने ‘बाहिर बसेर गफ गर्दा धेरै मानिसले देख्छन् । त्यसैले हामी बिदाको दिन चलचित्र हलमा बिताउँछौं । फिल्म हेर्नुभन्दा पनि हाम्रो समय आफैं–आफैंमा गफ गरेर बित्छ ।’ नजिकै पार्क र सुरक्षित ठाउँ भए चलचित्र हलको कोलाहलमा गफ गर्नुपर्ने बाध्यताबाट मुक्ति पाइने उनले खुलेर बताए । भेट हुदाँ पनि होटलमा चिया खादैं गफ गर्नुपर्ने बाध्यता छ । होटलमा चिनेका मानिसले देख्ने चिन्तामा डुवेर भेटहरु कटाउँछौ ।
जोडीहरु पूर्वमा सुरक्षित डेटिङस्थलको अभावले डेटिङ जान नपाएको बताउँछन् । तर, पत्रकार तथा सहायक प्राध्यापक अर्जुन उप्रेती भने स्थान पहिचानको गर्न नसकिएको बताउँछन् । पूर्वमा रहेका थुप्रै स्थानहरुलाई डेटिङस्थलका रुपमा परिणत गर्न सकिने उनको धारण छ । ‘सुनसरीका झापामा डेटिङ जान सक्छन्, झापाका सुनसरी वा इलाम जान सक्छन् । यही ढङ्गले प्रेमप्रेमिकाले आफ्नो डेटिङस्थल आफ्नो ठाउँभन्दा अलिक टाढा रोज्न सक्छन्,’ उप्रेतीले थपे, ‘६०–७० किलोमिटर त्यति टाढा पनि हैन, त्यतिमात्र टाढा जाने हो भने यो समस्या रहँदैन ।’
समय र परिस्थितिले वातावरणमा निक्कै प्रभाव पारेको छ । समयसँगै मानिसका इच्छा र चाहना पनि बदलिने गरेका छन् । बढ्दो आधुनिकता र प्रविधिको प्रयोगले समेत नयाँ–नयाँ इच्छा र चाहना पैदा हुने गरेका छन् ।
यो संस्कृतिबाट सबैभन्दा बढी युवापुस्ता प्रभावित छ । हरेक मानिसका रमाउने आ–आफ्नै शैली हुन्छन् ।  मानिसहरु जीवनलाई रमाइलो बनाउन अनेक उपाय अपनाउँछन् । तर यसरी विदेशी संस्कृति जस्ताको त्यस्तै अपनाउँदा हाम्रो समाजमा पर्ने प्रभावसमेत ख्याल गर्नुपर्ने बताउँछन् उप्रेती । नेपाली समाज अहिले परिवर्तनको चरम मोडमा छ । युवापुस्ता यसको मुख्य अगुवा हुन् । यो पुस्ता नै सचेत हुन नसके नेपाली समाजमा विकृतिले विकाराल रुप लिन सक्छ ।

0 comments:

 
धन्यवाद