सग्लो आकृति


कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु

हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी

चम्किलो भेटिएला केहि केहि
धमिला उस्तै आइलाग्लान्
जमात वेग्लै चतुरहरुको
फेला पर्लान सोझाहरु
हुदैछ यस्तै संयोजन
पृथक यो क्यानभाषमा ।

लट्टाइबाट छिनेका चंगाहरु
दुर्घटनाले बनेका भंगाहरु
विस्वासघात गर्ने नाङ्गाहरु
सबै सबै
दुखीतहरु, हर्सितहरु
सफलहरु, असफलहरु
योगीहरु, वियोगीहरु
सन्तहरु, साधकहरु
भद्रहरु, बैमानहरु
अटाउँछन या अटाउँदैनन्
हेर्दैछु म यो क्यानभाषमा ।

सडकको स्वरुप बोल्नुछ
महलको चेहरा देखिनुछ
कतै जलेका दिल
कतै उर्लिएका मन
एकै भएर आउँछ आउँदैन
म खोज्दैछु यो क्यानभाषमा ।

नानीका निश्चल आखाँ
आमाको निश्चल प्रेम
प्रेमीको निश्चल सर्मपण
झल्कन्छ, झल्कन्न सबै सबै
एउटै यो क्यानभाषमा
सग्लो आकृति भित्र ।
                                इटहरी, सुनसरी
                                  २०६९ माघ २६, 

1 comments:

Anonymous said...

juicy poem.

 
धन्यवाद