गजलमा नयाँ वर्ष


मानिसमा उर्जा थप्ने विभिन्न बाहना हुन्छन् । नयाँ वर्ष पनि यस्तै एउटा बाहना भएको छ मानिसमा उर्जा सञ्चारका लागि । हामीले साथीभाइका मुखबाट पटक पटक सुन्दै आएका छौं ः ‘अहिलेसम्म यत्तिकै भै‘गो, अव नयाँ वर्षदेखि सुरु गरौंला ।’ नयाँ बर्ष आउन दुईचार महिना बाँकी छदै धेरैका मुखबाट सुनिने यस्ता शब्दले पनि नयाँ वर्ष मानिसमा उर्जा जागृत गराउने माध्यम हो भन्ने प्रष्ट हुन्छ । झन लेखक सहित्यकारहरुले त यसलाई बाहनामात्र बनाएका छैनन् अवसरका रुपमा लिएको पाइन्छ । नेपालमा गजल लेख्नेहरुले आफ्ना रचनामा नयाँबर्षलाई देश र परिवेशसंग जोडेर सिर्जनाको खेतबारीमा उमारेका छन् । गोडमेल गरेका छन् र सिर्जनाका थरि थरि फूलहरु फुलाएका छन् ।
                सोचे जस्तो वीर शहीदको रगत बोकेर ।
               आउ नयाँवर्ष तिमी नौलो जगत बोकेर ।
              नेपाली आमा अनि सगरमाथा रुदैछ आज
             मेरी आमाको आँसु पुछ्ने फगत बोकेर । 

भर्चुअल संसारमा गोपाल पराजुलीले  आफ्ना भावनालाई यस्तै गजलमा लपेटेर मिसाएका छन् नयाँवर्षसंग । सुचना र प्रविधिको आजको युगमा हामी यो भनाइमा मात्र सिमित नरहेर गराइमा समेत भर्चुअल संसारमा भासिइसहेका छौं । नयाँ वर्षले हाम्रो संघार टेक्नलाग्दा भर्चुअल संसारमा यस्ता थुप्रै गजलीय भावनाहरु डुबुल्की मारिरहेका छन्, पौडिरहेका छन्, आ आफ्नै विषेशता र प्रकृति बोकेर । भर्चुअल संसारको यो भासमा गजलहरु कतै भासमा गाडिएका छन् त कतै सङ्लो पानीमा झै माथी माथि तैतिरहेका छन् । झरनाको चिसो पानीमा गर्मी पखाले जस्तो पखालिई रहेका छन् । देशको राजनीतिक परिवेशले थिलथिलो भएका हाम्रा भावनाहरु ती गजलीय अभिव्यक्तिमा छर्लङ्ग देख्न सकिन्छ । भर्चुअल संसारमा तैरिरहेको कोमल भट्टको भाव गजलमा यसरी आएको छ ः
                नव वर्ष फुलोस फलोस् मेरो शुभकामना ।
               वैरभार र विरोध ढलोस् मेरो शुभकामना ।

              रातोदिको खिचातानी, छल र बेइमानी,
              खरानी भै छिट्टै जलोस् मेरो शुभकामना । 
यो कोमल भट्टको एक्लो चाहना र कामना मात्र हैन्, पौने तीन करोड नेपालीको चाहना यसले बोकेको छ । कसलाई हत्या, हिंसा, छल, कपट र बेइमानहरुको अशान्त मुलुकमा बस्ने रहर हुन्छ र ? सधै यसको विपक्षमा रहेक नगरिकहरुले मुलुकको यस्तो दुर्दशामै यात्रा जारी राख्न प¥यो । आमनागरिकले झेल्न परेका कष्टहरु नयाँ वर्षका गजलशेरमा पनि झ्ङ्कृत भएका छन् । भएभरका विद्वेषहरु पाखालिएर सुन्दर शान्त मुलुक र समाजको कल्पना सबै चाहेको परिवेश हो । आपसी सद्भाव, भाइचारा र बन्धुत्वको मालामा उनिएर हातमा हात मिलाई मुलुकको उन्नती र प्रगतीमा एकसाथ अगाडी बढ्ने वातावरण चाहन्छन्् गजलकारहरु  । आफ्ना सिर्जनामा नयाँ वर्षले यस्ता दिनको थालनी गरोस् भन्ने अभिलाषा प्रकट भएको पाइन्छ ।
             बिहेको दिन लगा‘को कोटजस्तो होस् नयाँ वर्ष । 
             दशैंमा टीकासगैं पा‘को नोटजस्तो होस् नयाँ वर्ष ।

             फूल पनि अति सुन्दर बास्ना आहा मगमग
            उहि पवित्र पारिजातको बोटजस्तो होस् नयाँ वर्ष ।
यी दुई शेरमा राजु अतिथिले नयाँ वर्षलाई साच्चै नविन र सुन्दरताको प्रतिकका रुपमा आउनु पर्ने भावना छताछुल्ल पार्न भ्याए । भर्चुअल संसारमा घुम्दै जाँदा भेटिएका नयाँ वर्षका केहि नमुना गजलहरु मैले यहाँ साभार गरें । नयाँ वर्षलाई प्रत्यक्ष केन्द्रित गरिएका यी र यस्ता गजल भन्दा फरक गजलहरु भर्चुअल संसारमा मात्र हैन पुस्तकका पानापानामा सजिएका छन् । सुनौला अक्षरमा टाँसिएका छन् । ती गजलहरुले कुनै एउटा दिनलाईमात्र नभएर हरेक विहानीलाई नयाँ वर्ष मनाउन प्रेरित गरेका छन्, हरेकको मनमा तरंग छेड्न अग्रसर भएका छन् ।
                रात छिप्पिदै गई प्रभात हुन्छ  
                 अन्तिमपछि फेरि सुरुआत हुन्छ

                जति कालो बाक्लो बादल लाग्छ
                 सम्झनू, उति छिटो बर्षात हुन्छ ।
मनोज न्यौपानेले आफ्नो पहिलो गजल संग्रह अन्तिममा यसरी नै हरेक समयलाई उर्जाशिल बनाउँन प्ररित गरेका छन् । गजलमा उनले नयाँ वर्षलाई नयाँ शैलीले पस्किएका छन् । नेपाली गजल लेख्न थालिएको एकसय २५ वर्षिय इतिहासमा गजलले थुप्रै फड्को मारेको छ । श्रृगारिक धाराबाट सुरु भएको नेपाली गजललेखन परम्परा आजको दिनसम्म आइपुग्दा यसले नसमेटेको विषय सायद कुनै विषय छैन् । नयाँ वर्षकै कुरा गर्न पर्दा नयाँ वर्षले जसरी मानिसमा उर्जा सञ्चार गराउन र आपसी सम्बन्ध प्रगाढ बनाउन  भूमिका खेल्दछ ।  गजल पनि त्यसरी नै समय र परिवेश अनुसार परिवर्तन हुदै आइरहेको छ । आज आउने धेरैजसो गजलहर माया प्रेम भन्दा पनि सामाजिक विकृति र विसंगतीमाथी प्रहार भएर आउँछन् । समसामयीकता बोकेर आउँछन् । परिर्वतनशील समयलाई पछ्याउँदै विकास र निमाणृको सन्देश बोकेर आउँछन् । अनि राजनीतिले भताभुङ्ग र लथालिङ्ग पारेको मानवियतालाई जोडन् भावना र सम्वेगको चिसो वतास लिएर आइरहेका छन् । प्रेम, र आसक्तिमा लिप्त हुने हैन, निरासाका पोकाहरु फुकाउँनृमात्र हैन, मुलुक र समाजको प्रगतिमा रमाउँने गजलकारको संख्या दिनानुदिन बढ्दो छ । यो क्रमले निरन्तरता पाइहने आशाका कामनाका साथ पुछारमा केपी लम्सालको असन्तृप्त अभिलाषा संग्रहबाट यो शेर ः    
               पोहर न‘भाको काम यसपाली हुनैपर्छ  ।
               मेरो देशमा सुख शान्ति बहाली हुनैपर्छ । 
                                                                                नागरिक पूर्वेलीमा २०६९ चैत ३०मा प्रकाशित

0 comments:

 
धन्यवाद