सुनसरीमा खुल्ला दिशामुक्तको बजेट छ करोड

सबै बजेट जनचेतना र प्रविधिमा
सुनसरी जिल्लामा कार्यरत प्राय जसो सबै सरकारी र गैरसरकारी संस्थाले आफ्नो बजेट जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशा मुक्त बनाउँने अभियानमा केन्द्रीत गरेका छन् ।
    जिल्ला विकास समिति र गाविस बाहेकका संघसस्थाले यो अभियानका लागि यस आर्थिक वर्षमा छुट्याएको रकम पाँच करोड बढि छ । जिविस र गाविसले छुट्याएको रकम जोड्दा यो वर्ष सुनसरीमा सरसफाइ र खुल्ला दिशामुक्त क्षेत्रका लागि छ करोड बढि खर्च हुनेछ ।
    विश्व सरसफाइकोष, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय, वर्डभिजन, वेल, सीएसडीसी, लुमन्ति, प्लान नेपाललगायतका संस्थाले बजेट सुनसरीलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियानमा केन्द्रीत गरेका हुन् ।  
    सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्दै आएको लुमन्तीले इटहरी नगरपालिकाका तीनवटा वडाका लागि एक करोड १२ लाख ८४ हजार रुपैया छुट्याएको छ । यो रकमले इटहरी नगरपालीकाका ५, ७ र ८ नं वडामा शौचालय निमार्ण, स्वास्थ्य चेतना मुलककार्यक्रम र खानेपानी पाइपलाईन निमार्णमा खर्च गरिने लुमन्ती इटरीका कार्यक्रम संयोजक सुर्य खड्काले बताए । वाटर एडको सहयोगमा काम गरिहेको संस्थाले गतवर्ष ९२ लाख रुपैया इटहरीको वडा नं ९ र ६ मा खर्च गरेको थियो । यस्तै इनरुवा नगरपालिकाका लागि लुमन्तिले ८२ लाख ८२ हजार रुपैया छुट्याएको छ । 
    विश्व सरसफाइकोषबाट युएन ह्याविट्याडले वाटर एण्ड लाइफ(वेल) मार्फत ५९ लाख ७६ हजार र एससीडिसी नामकसंस्था मार्फत  २२ लाख ५८ हजार रुपैया खुल्ला दिशा मुक्त अभियान र सरसफाइ कार्यक्रम गरिरहेको छ । दुईवटा संस्था मार्फत सुनसरीका ३५ वटा गाविसमा सरसफाइ र खुल्ला दिशामुक्त बनाउन जनचेतनामुलक कार्यक्रम गरिरहेको ह्याविट्याड सुनसरीका कार्यक्रम संयोजक काशिकान्त ठाकुरले बताए । ‘चेतना मुलक कार्यक्रम र प्राविधिक सहयोग गरेर हामीले विपन्न समुदायलाई शौचालय बनाउने अभियानमा सहयोग पु¥याउँदै आएका छौं,’ ठाकुरले भने । त्यस्तै एससीडीसीले ह्याविट्याडको २२ लाख ५८ हजारलगाएर ८६ लाख १७ हजार बजेटको कार्यक्रम गरिरहेको छ । त्यसमा एसीडीसीलाई प्लान नेपालले १३ लाख ९३ हजार दिएको छ । प्लान नेपालले आफै पनि अन्य संस्थासंग मिलेर सुनसरीका २४ वटा गाविसमा अरु १४ लाख बराबरको सरसफाइ कार्यक्रम गरिरहेको प्लान नेपालको विकास कार्यलय इटहरीले जनाएको छ ।
यस्तै वेलले सरसफाइकोषको ५९ लाखवाहेक १३ लाख ६७ हजार रुपैया सुनसरीका ३५ गाविसका २ सय २० वटा विद्यालयमा सरसफाइ र सौचालय निमार्णका लागि बजेट निर्धारण गरेको छ । विकास पुर्ननिमार्णका लागि सहयोग गर्दै आएको आरआरएनले पनि सुनसरीमा २२ लाख ४२ हजारको बजेट यो अभियानमा खर्च गर्दै छ । भरौल गौतमपुर, बराहक्षेत्र, औरावनी लगायतका गाविसमा सौचालय निमार्णका लागि विपन्न समुदायलाई सहयोग गरेको आरआरएनले जनाएको छ । सन् २००४ देखि सुनसरीमा सरसफाइ र खुल्लादिशामुक्त अभियान चलाउँदै आएको वर्डभिजनले २०१३सम्म आइपुग्दा आठवटा गाविसमा दुई करोड ७८ लाख रुपैया खर्च गरिसकेको छ । सात हजार सात सय ४ वटा ट्वाइलेट बनाउँन आर्थिक सहयोग गरेको वर्ड भिजनले यो वर्ष ५९ लाख ७१ हजार बजेट छुट्याएको छ । यो रकमले दुइवटा गाविसलाई खुल्ला दिशामुक्त गराउँने वर्ड भिजन इटहरीका विकास संयोजक डीएन चौधरीले बताए ।
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय इटहरीले ३० लाख र इटहरी नगरपालीकाले १५ लाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । जिल्ला विकास समितिले भने खुल्ला दिशामुक्त हुने गाविसलाई प्रति गाविस ५० हजार रुपैया छुट्याएको छ । यस्तै गाविस कार्यलयहरुले समेत बजेटमा ५० हजार देखि एकलाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । यो अभियानमा लागेका सबै संस्थाले विपन्न समुदायका व्यक्तिलाई समेत सौचालय बनाउने खर्च नदिएर उनिहरुलाई उत्साहित गर्ने कार्यक्रम र अभियानका लागि खर्च गरिरहेको यूएन ह्याविट्याडका काशिकान्त ठाकुरले बताए । ‘पहिले पहिले सव्सीटीमा सौचालय निमार्ण गरियो तर त्यो दिगो भएन । त्यसैले अहिले हार्डवेयर नभएर सफ्टवेयरका क्षेत्रमा मात्र सहयोग गर्दै आएका छौं’ उनले भने । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयको तथ्याङक अनुसार एक लाख ३७ हजार घरधुरी रहेको सुनसरीमा ६० हजार घरघुरीले सौचालय बनाउँन बाँकी छ । सबै घरधुरीमा सौचालय बनाए पछि मात्र खुल्ला दिशामुक्त घोषणा हुने भएकाले अहिले सबै सौचालय निमार्णको अभियानमा लागेको डिभिजन कार्यलयका इन्जिनियर शुशिल कर्णले बताए । सबै संघ सस्थाहरुको उत्साहले गर्दा सन् २०१५ भित्रै यो अभियान पूरा हुने उनको भनाइ छ ।
    जिल्ला विकास समिति र विभिन्न संघसंस्थाको सक्रियताले गर्दा विपन्न समुदाय पनि उत्साहजनक तवरले सौचालय निमार्णमा लागेकाले सुनसरीमा अहिले भएको बजेट अभियान सफल बनाउन काफी रहेको स्थानिय विकास अधिकारी पाण्डेको भनाइ छ । ‘अहिले सौचालय निमार्णका लागि भन्दा पनि जनताको दिमागमा सौचालय बनाउने चेतना विकासका लागिमात्र खर्च गरिदै आएकाले अहिले हामीसंग भएको स्रोत र साधन काफी छ,’ पाण्डेले भने ।  
 

0 comments:

 
धन्यवाद