रुबाइ महोत्सवमा

मन्त्री चयनले देश दुख्यो धेरै
संविधान लेख्न चुक्यो धेरै ।
जाबो एमआरपीमा त विवाद हुन्छ यहाँ,
स्वाभिमानी शिर हाम्रो सबै सामु झुक्यो धेरै ।
राजकुमार सुब्बा ‘अनिश्चित’को यो रुबाइ अहिले नेपालको रुबाइ भएको छ । राजनीतिक अस्थिरताले नेपालीले भोग्नु परेका पीडाको समष्टिमात्र यो रुबाइमा छैन्, दमकमा सकिएको राष्ट्रिय रुबाइ महोत्सवको याद समेत ताजा छ सहभागीहरुका लागि । अनिश्चितले जस्तै कार्यक्रममा भेला भएका पुर्वका १२ वटा जिल्लाका साहित्यकारले आफ्ना रुबाइको स्वाद चखाए ।
नेपालमै पहिलो रुबाइ महोत्सव भएकाले असोज ८ र ९ गते दमकमा साहित्यकारहरु आफ्ना सिर्जनाको वा... वा पाउँदै थिए । साहित्य र गजलका बाक्लै कार्यक्रम भैरहने दमकमा रुबाइ महोत्सवको भने चर्चा अलि बढी नै सुनिन्थ्यो । सर्बसधारणहरु रुबाइ महोत्सव साहित्यको कुनै विधाको महोत्सव नभएर मानिसहर रुने महोत्सव हो की भन्ने भ्रममा समेत थिए । जसले गर्दा दमकमा मात्र नभएर पुर्वमै धेरैले जिज्ञासा राखेका थिए यस विषयमा ।
पुर्वका भोजपुर, ओखलढुगां, उदयपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीलगायत भुटानी स्रष्टाले आ आफ्नो ठाउँको रुबाइ गतिविधिको चर्चा गरे । उनिहरुले रुबाइको संरचना र यसको पृष्ठ भुमिबारे चर्चा, परिचर्चा र बहस गर्न पनि भ्याए ।
काम गर्ने भोक भोकै खाइरहन्छ बस्नेले चाहीँ ।
उल्टै पदक पाइरहन्छ अरुलाई डस्नेले चाहीँ ।
हाम्रो घर चिनाउँछन् जङ्गे पिलर सम्झाउँछन्,
नागरिकता खरिद गरी हाम्रा तिर पस्नेले चाहीँ ।
भुपेन्द्र तिम्सिनाले यसरी एउटा प्रवृतीलाई औंलो ठड्याए रुबाइबाटै । फारसी साहित्यमा प्रसिद्ध विधा रुबाइ नेपाली साहित्यमा लेख्न थालिएको धेरै नभए पनि यसले धेरै बिषयलाई समेटन सफल भएको छ । करुण रसको पृष्ठभुमि भएको रुबाइ अहिले समसायीक, जीनव, जगत, मिलन, विडोड, आँसु हासो आदि बिषयबस्तु बनेका छन् भनौ अहिले रुबाइले कुनै पनि बिषय छाडेको छैन् । याम थुलुङले यसरी प्रेमको सर्मपण देखाएका छन् रुबाइमै ः
उध्रिएको यो मनलाई सिउँ जस्तो लाग्यो ।
अाकाशबाट एउटा तारा लिउँ जस्तो लाग्यो ।
तिमीलाई देखेपछि के भो के भो यो मनलाई,
सिङ्गो ज्यानै उपहार दिउँ जस्तो लाग्यो ।
चार हरफमा लेखिने रुबाइमा अहिले युवा पुस्ता आर्कशित छ । त्यसको राम्रो उदाहरण बन्यो दमकको महोत्सव । महोत्सवमा सहभागी अधिकांस सहभागीहरु तन्नेरी थिए । साझका बसाइ भने संगीतमय गजलको आनन्द लिएका थिए सबैले । गायक प्रताप सुब्बाले सुमधुर गजल र नेपाली गीत गाए ।सुचना र प्रविधिले ब्यस्त बनाएका मानिसका लागि छरितो र खँदिलो साहित्य हो रुबाइ । त्यसैले त धेरै युवाहरु आजकाल रुबाइबाटै साहित्य यात्रा सुरु गरेका छन् ।
नेपालमा रुबाइको इतिहास लामो छैन् । विगतमा यसलाई मुक्तक भन्ने गरिए पनि रुबाइ मञ्च नेपालको आयोजनामा भएको महोत्सवबाट यसबारे बहस सुरु भएको छ । कार्यक्रममा रुबाइ मञ्चका संयोजक कमन देवानले रुबाइको इतिहास र संरचना समेटिएको रुबाइः स्वतन्त्र अस्तित्व एक विवेचना कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा टिप्पणी गर्दै प्रा डा टंक न्यौपाने कवि मनुमञ्जिल र मुनराज शेर्माले रुबाइलाई काब्यको एउटा भेदका रुपमा विकास गर्नु पर्ने औंल्याए । रुबाइ साहित्यको छुट्टै विधा नभएर काव्यको एउटा भेदमात्र भएको उनिहरुको तर्क थियो । कार्यपत्र प्रस्तुतकर्ता कमन देवान भने रुबाइका बारे अध्ययन र अनुसन्धान अगाडी बढाउन आफुले बाटोमात्र बनाएको बताउँछन् । रुबाइको बारेमा बहस मात्र सुरु गरेको उनको भनाइ छ ।

0 comments:

 
धन्यवाद