फोहरबाट मोहर बटुल्दै महिला

फोहरमा फ्याकिएका चाउचाउ, विष्कुट, तेलका पाकेटलगायतका प्लाष्टिकबाट सजावटका सामाग्री बनाएर इटहरी ४ को जागृतीटोलका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् ।
फोहरको थुप्रोले बजार र सहरहरु दुर्गन्धित भएर  समस्या भैरहेका वेला जागृती टोलका महिला भने फोहर नपाएर समस्यामा परेका छन् । सडकमा फालिएका फोहरबाट सजावटका सामाग्री बनाएर आम्दानी गर्न थालेपछि अहिले उनिहरु पाहुनालाई कोशेलीमा फोहर ल्याइदिन आग्रह गर्छन् । सडक र कन्टेनरमा फालिने फोहरबाट सजावटका सामाग्री बनाउने कला सिकेपछि जागृती टोलका महिलाको आम्दानी मासिक १० हजार देखि १५ हजारसम्म पुगेको छ ।
बिष्कुट, चाउचाउ, दुघ र खानेतेलका प्याकेटलाई सजावटका सामाग्री बनाउन जानेपछि आफ्नो दिउसोको समय कटाउन सजिलो भएको बताउँछिन् सुमन राई । ‘नानीहरुलाई स्कुल पठाएपछि दिउसोको समय त्यतिकै खेर जान्थ्यो । अहिले त फोहर भनेर फालिने सामाग्री भेला गरेर सजावटका सामान बनाउँदै बित्छ कमाइपनि राम्रो भएको छ,’ उनले भनिन् ।

महिलाहरुले घरबाट फलिने र सडकमा फालिएका प्लाष्टिक जन्य सामानबाट, फुलदानी, पूजाका सामान राख्ने ढाकी, टेवुल म्याट, झोला, फलफुल र तरकारी राख्ने सामाग्री बनाउँने गरेका छन् । बनाउन सके यस्ता सामाग्री जति पनि बिक्रि हुने मञ्जु कार्कीले बताइन् । ‘यस्ता सामाग्रीको माग थुप्रो छ । हामीले अर्डर अनुसार बनाउँन नै सकिरहेका छैनौ, उनले भनिन् । इटहरी, विराटनगर, धरान लगायतका सहरमा आफुहले बनाएका सामाग्री बिक्रि हुनेगरेको उनिहरुले बताए । चाहिए जति फोहर नपाउँदा सामानको माग पुरा गर्न नसकेको उनिहरु बताउँछन् ।
फोहर संकलन गर्न सके दैनिक तीनवटासम्म सामाग्री बनाउन सकिन्छ तर नजिकै फोहर पाइन छाडेकाले दैनिक एउटा सामाग्रीमात्र बनाउदै आएको देवकुमारी राइले बताइन् । यसरी फोहरजन्य प्लाष्टिकबाट बनाएका सामानहरु एउटाको दुइसय देखि ५ सय रुपैयासम्म बेच्ने गरेका छन् । बजार प्रशस्त भएकाले आम्दानी गर्न ग्राहो नभएको उनीहरु बताउँछन् ।
वतावरणका लागि हानिकारक प्लाष्टिकका फोहरबाट सामाग्री बनाउन थालेपछि आफ्नो गाउँ पनि सफा भएकोमा एकातिर खुसी छन् भने अर्कातर्फ त्यसै फोहरबाट राम्रो पैसा आउन थालेपछि महिलामात्र दंग छैनन् पुरुषहरुले घर खर्चबाट मुक्ति समेत पाएका छन् । त्यहि सामानको पैसाले महिलाहरुले छोराछोरीलाई राम्रो स्कुल पठाउन थालेका छन् ।
जागृती टोलका आधादर्जन बढी महिलाहरु अहिले ब्यवसायीक रुपमा फोहरबाट सजावटका सामाग्री बनाएर आफ्नो आम्दानी बढाइ रहेका छन् ।
महिला सिप विकास संस्थाको अगुवाइमा सिमएन आयोजना र इटहरी नगरपालीकाले ४ महिना अगाडी फोहर व्यवस्थापन तालिम दिएपछि महिलाहरुले आम्दानीको बाटो पत्ता लगाएका हुन् । तालिम अगाडि हामीलाई फोहरबाट यस्ता राम्रा सामाग्री बन्छ भन्ने थाहै थिएन अहिले हामीलाई यसैले ब्यवसायी बनायो, विदेशबाट सामाग्रीको माग आउन थालेको छ मिना डागीले भनिन् तर फोहर संकलन गर्ने समस्या पनि थपिएको छ ।  जागृती टोलका महिलाले फोहरबाट आम्दानी गर्न थालेपछि आसपासका गाउँका महिला पनि यसतर्फ आर्कषित भएका छन् ।
महिला सिप विकास संस्थाकी अध्यक्ष राधिका कार्कीले गृहिणी महिलालाई कामले रोजगारी सिर्जना गरेको बताइन् उनले यसलाई ब्यवस्थित गरेर सबै गाउँमा पुर्याउन सके महिलाको जिवनस्तरमात्र माथि नउठेर वातावरण समेत सफा हुने दावी गरिन् । सरकारी तथा दातृ निकायले यस्तो अभियानलाई सहयोग पुर्याउनुपर्ने उनको राय छ । महिलालाई फोहरसंकलन गर्न र आम सर्वसाधारणलाई यसरी प्रयोग हुने फोहर एकठाउँमा जम्मा गरेर यस्ता सिप भएका महिलालाई बुझाउन जनचेतना जगाउनु पर्ने कार्कीको राय छ ।
कारोबार दैनिकमा हेर्न

1 comments:

ColoredVogue said...

esto sipmulak kaam lai jai nepal...appreciate the creativity :)

 
धन्यवाद