स्कुले बालबालिकाको रंगमञ्च यात्रा



कला विनाको जीवन बाँच्न असम्भव छ । हरेक मानिसमा एउटा न एउटा कला हुन्छ तर सबैले आफुमा भएको कला प्रस्तुत गर्न सक्दैनन् । जो संग प्रस्तुत गर्ने प्रतिभा र क्षमता छ उस्लेमात्र रंगमञ्च पाउँने हो । प्रतिभा प्रस्तुत गर्ने क्षमता भएकाहरुले जीवनको कला रंगमञ्चमा उतार्ने हुन् ।
आफुमा भएको प्रतिभा रंगमञ्चमा देखाउन लागि परेका छन् इटहरीको विभिन्न बिद्यालयका बालबालिकाहरु । स्कुल थिएटर २ को मञ्चन सकिएपछि उनिहरुमा रंगमञ्च यात्राको मोह झन बढेको छ । कक्षा ८ मा अध्ययनरत बर्षा केसी भविष्यमा रंगमञ्चको राम्रो कलाकार बन्ने लक्ष्य रहेको बताउँछिन् ।
चाटर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य बोकेर कक्षा ८ मा पढ्दै गरेका विराज गौतमको प्रस्तुती सबैले मन पराएपछि आफ्नो लक्ष्य पुरा गर्न लागि परेपनि रंगमञ्च यात्रा भने जीवनभर नछाड्ने बताउँछन् । उनि भन्छन् कलाले गर्दा नै मलाई पढाइ र जीवनका अन्य क्रियाकलापमा उर्जा थपेको छ ।
कलालय इटहरीले आयोजना गरेको स्कुल थिएटर २ मा युकेजी देखि कक्षा ८ सम्मका ७६ जना बालबालिकाले आफै लेखन र निर्देशन गरेका ९ वटा नाटकले दर्शकलाई आर्कषित गरेको थियो । नाटकमा बर्षा केसी, विराज गौतम, श्रीजा दाहाल, अनुजा पौडेल, पुजन थापालगायतका बालबालीकाले दर्शकको मन छुने अभिनय कला प्रस्तुत गरे । बालबालिकाहरुले मञ्चन गरेका नाटकमा अहिलेको अस्थिर राजनीतिले मुलुकमा पारेको प्रभाव चित्रण गरिएको थियो । भने वनजंगलको विनासले मौसम परिवर्तनमा ल्याएको असर, सामाजिक विकृति विसंगतीका साथै बालबालिकाका बिषयबस्तुलाई स्कुले नानीहरुले नाटकमा कलात्मक तरिकाले पस्किएका थिए ।
बिराज गौतम, मन्जिल खुलाल, बर्षा केसी, अनुजा पौडेल,  आयुष ढकाल, शुशिला घिमिरेले छुट्टा छुट्टै नाटक निर्देशन गरेका थिए । तीनवटा नाटक बालबालिकाले आफै लेखेका र अरु स्थानिय तथा विदेशी लेखकका आधा दर्जन कथालाई नानीहरु आफैले नाटक बनाएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए ।
 भोलिको समाज निर्माण गर्न साना नानीहरुको लुकेको प्रतिभालाई उज्यालोमा ल्याउने र परिस्कार गर्ने कार्यको निरन्तरताका लागि थिएटरको दोस्रौ संस्करण गरिएको र यसलाई निरन्तरता दिन नयाँ शैली समेत अपनाइएको कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए ।
बालबालिकाको प्रस्तुती देखेर चकित भएका प्राध्यापक डा अभि सुवेदीले उनिहरुलाई रंगमञ्चमा टिकाइराख्ने वातावरण बनाउँन समाजले लगानी गर्नुपर्ने बताए । मञ्चबाटै बालबाललिकाको प्रस्तुतीको प्रसंसा गर्दै ती नाटक संसारका जुनसुकै कुनामा लगेर मञ्चन गरेपनि उत्कृष्ट ठहरिने दावी गरे ।  प्रा डा सुवेदीले बालबालीका भोलीको रंगमञ्चको जग भएकाले उनिहरुलाई राम्रौ संस्कार र निरन्तर अभ्यासको लागि सहयोग पुर्याउनु आवश्यक रहेको बताए ।
थिएटरमा बिद्याबारिधी गरेका डा शिव रिजालले बालबालिकाहरुलाई निरन्तर अभ्यास गर्ने वातावरण जोगाइराख्न सके देशकै उदाहरणीय काम हुने बताए । यस्ले सुस्ताउदै गरेको नेपाली रंगमञ्चको अवस्था माथि उठाउन सहयोग पुर्याउने हुदा नानीहरुको रंगमञ्च यात्रालाई निरन्तर गराउँनु पर्नेमा जोड दिए ।
बालबालिकाको रंगमञ्च यात्रालाई निरन्तर बनाउँन यसपटक देखि नयाँ शैली समेत अपनाइएको छ । कवि मनु मन्जिलको परिकल्पनामा सुरु गरिएको नयाँ शैली हो खुत्रुके बचत । इटहरीका प्रतिष्ठित ब्यक्तिहरुलाई २ सय वटा खुत्रुके वितरण गर्ने र आउँदो चैतमा ती खुत्रुके भेला गरेर रकम संकलन गरिने र त्यो रकम स्कुल थिएटरको आगामी संस्करणका लागि खर्च गरिने कलालयले जनाएको छ ।

0 comments:

 
धन्यवाद